
बुटवल । आर्थिक उपार्जन र आत्मनिर्भरताले मात्रै दिगो महिला सशक्तिकरण हुने निष्कर्ष निकाल्दै महिला उत्सव सकिएको छ । त्यसका लागि महिलाहरुलाई उत्पादन, बजारिकरण र उद्यममा जोड्नुपर्ने उनीहरुको जोड छ ।
महिला सशक्तिकरणका लागि उद्यम भन्ने नारासहित लुम्बिनीमा बिहीबार महिला सामाजिक उद्यमी उत्सव आयोजना भएको थियो । उत्सवमा देशभरबाट छनोट भएका करिब ४ हजार ५ सय साना किसान तथा उद्यमी महिला सहभागी थिए । सामाजिक उद्यमी महिला संजाल र हेफर इन्टरनेशनलले उत्सव आयोजना गरेका हुन् ।

सामाजिक उद्यमी महिला संजालमा ३ लाख १४ हजार साना किसान महिला आवद्ध छन् । उनीहरुले २ सय ५५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था संचालन गरेका छन् । त्यसबाट उत्कृष्ठ महिला छनोट गरेर उत्सवमा सहभागी गराइएको संजालकी अध्यक्ष पार्वती न्यौपानेले बताइन् । महिलाहरुलाई समूह र सहकारीमा आवद्ध गर्दै आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने लक्ष्यसहित संजालले काम गरेको छ ।
उत्सवमा उत्कृष्ठ ४ सहकारीलाई पुरस्कृत गरिएको छ । त्यसमध्ये दाङको लमहीमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारीले ३ लाख र सम्मान पत्र सहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार पाएको छ । सिन्धुलीको दुधौलीमा रहेको प्रयास, कास्कीको माछापुच्छ्रेमा रहेको प्रतिभा र कपिलवस्तुको वाणगंगामा रहेको बिहानी सामाजिक उद्यमी महिला सहकारीले क्षेत्रीय स्तरको पुरस्कार सहित १ लाख ५० हजार नगद र सम्मान पत्र पाएका छन् ।

साना किसानले उत्पादन गरेका कृषि तथा पशु उपजको बजारिकरणको समस्या समाधान गर्न र बजारको पहुंचको सुनिश्चिता गर्न भन्दै १ सय २ वटा सामाजिक उद्यमी महिला सहकारीलाई १ सय २ वटा कृषि उपज ढुवानीका साधन सहयोग गरिएकोे छ । उत्सवका अवसरमा लुम्बिनीमा उत्कृष्ठ ३२ सहकारीलाई ३२ वटा ढुवानीका साधन पाए भने ७७ वटा यसअघि नै वितरण गरिएको थियो । हेफरको ५० प्रतिशत सहयोगमा ढुवानीका साधन दिइएको हेफरका कार्यकारी निर्देशक तिर्थ रेग्मीले बताए ।

उत्सवमा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक कुमार शेरचनले ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण र क्षमता विकासबाट आफू प्रभावित भएको बताए । आवश्यकताको पहिचान र समस्यामा सहजीकरण गर्न सक्ने हो भने बेरोजगार भएका र घरको चुलोचौकोमा भुलेका धेरै महिला उत्पादनमा जोडिन सक्ने, उद्यमी बन्ने र जिविका फेर्न सक्ने उनले जनाए । कार्यक्रममा संघीय सांसद गोकर्ण विष्ठ, प्रदेश सांसदहरु, लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख लगायतले उद्यमी महिलाहरुको उत्पादन, बजारिकरण र उद्यम संचालनमा सघाउने प्रतिवद्धता जनाएका थिए ।
कृषि व्यवसाय प्रवद्धनका लागि सहकारीहरुले हाल १ सय ६० वटा संकलन केन्द्र तथा ४ सय ७८ वटा उपकेन्द्रहरु संचालन गरेका छन् । महिलाहरुलाई कृषि र पशु उत्पादनमा लगाउने, सदस्यहरुले उत्पादन गरेका वस्तुको बजारिकरण गर्ने काममा हेफर इन्टरनेशनलले सघाएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् । हरेक वर्ष उत्कृष्ठ सहकारी र किसान छनोट भएपनि उद्यमी उत्सव पहिलो पटक गरिएको हो ।

लुम्बिनी रिभ्यू