
सैनामैना । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले परनिर्भर अर्थतन्त्रले मूलुक धरापमा परेको बताउदै स्वदेशी उद्योगको प्रवद्धन गरी व्यापार घाटा कम गर्नुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र बलियो बनाउन स्वदेशी उद्योगको प्रवद्धन, युवा र महिला उद्यमशीलता आवश्यक रहेको उनले जनाए ।
रुपन्देहीको सैनामैनामा आयोजित कार्यकर्ता भेटमा पूर्वअर्थमन्त्री पौडेलले युवाहरु पढ्न वा वैदेशिक रोजगारीमा गएर उतै पलायन हुने र महिलाहरु गृहस्थ जीवनमा मात्रै रहदा मुलुकको आर्थिक उपार्जन कमजोर बनेको बताए । ‘युवाहरुलाई रुचिअनुसारका प्राविधिक शिक्षा लिने अवसर दिएर स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘ गृहिणीहरुलाई पनि आर्थिक उपार्जनका काममा जोड्ने कार्यक्रम ल्याउनुपर्छ ।’
पूर्वअर्थमन्त्री पौडेलले परम्परागत कृषिको सट्टा व्यवसायिक कृषितर्फ जान राज्यले मलबीउको ग्यारेण्टी गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले पर्यटन नेपालको ठूलो सम्भावना भएकाले लुम्बिनीलाई जोडेर मूलुकभर पर्यटन प्रवद्धनका कार्यक्रम ल्याउने योजना आफूले बनाएको उनले बताए ।

लुम्बिनी रिभ्यू