भैरहवा । गृहमन्त्री तथा रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले रुपन्देही सदरमुकाम भैरहवालाई अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित गरिने बताएका छन् । त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर आर्थिक केन्द्र बनाइने बताएका हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवामा स्थलमार्गबाट धेरै पर्यटक भित्रिने बेलहिया नाका छ । ‘यहाँ रहेको विशेष आर्थिक क्षेत्रको कार्यविधि परिवर्तन गरेर भए पनि क्षमताअनुसार सञ्चालनमा ल्याइनेछ,’बिहीबार यहाँ आयोजित आमसभामा उनले भने, ‘नाका व्यवस्थित गर्न एकीकृत जाँच चौकी ९आईसीपी०को निर्माण अगाडि बढाइनेछ ।’ यसका साथै व्यवस्थित सहर बनाउन सिद्धार्थ चक्रपथ निर्माण अगाडि बढाइने उनले बताए । ‘खानेपानी, बिजुली, नाला र सडकको अवस्था सुधार गरिनेछ,’उनले भने, ‘पर्यावरणमैत्री, शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गरिनेछ ।’ यहाँको शैक्षिक अवस्था सुधार्न स्तरीय विद्यालय सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने र त्यसमा सरकारले लगानी साझेदारी गर्ने बताए ।
‘भैरहवा आसपासका ओमसतीया र मायादेवी गाउँपालिकालाई सहरमा स्तरोन्नती गर्नेगरी विकासमा योजना ल्याइनेछ,’उनले भने, ‘ती गाउँपालिकामा सबैलाई बाटोघाटो, बिजुली र खानेपानीको सुविधा पुर्याइने छ ।’ भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालाको स्तरोन्नतीको काम तत्काल पूरा गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ थियो । ‘गाउँ–सहरको विकासका लागि स्थानीय र प्रदेश सरकारसित समन्वय गरिनेछ,’उनले भने, ‘मुलुकमा स्थिर विकासका लागि गठबन्धन निर्माण भएको हो ।’सांसद चुनिनका लागिमात्र यो निर्वाचन नभएको उनले बताए ।

लुम्बिनी रिभ्यू