• Saturday 25th July 2026

बुटवलबाट राजधानी सार्न लागेको भन्दै कर्मचारीहरु आन्दोलनमा

बुटवलबाट राजधानी सार्न लागेको भन्दै कर्मचारीहरु आन्दोलनमा

लुम्बिनी प्रदेश सरकारले पुर्वाधार नबन्दै अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयहरु दाङ लैजान लागेको भन्दै विभिन्न कर्मचारी संगठनहरु आन्दोलित भएका हुन ।


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्न लागेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कुनै संरचना तयार नहुँदै बुटवलबाट राजधानी सार्न लागेको भन्दै प्रदेश सरकारविरुद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राजधानी सारेर सरकारको खर्च बढाउन खोजेको आरोप लगाएका छन् । सरकारले मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने तयारी गरेको छ ।

यसको विरोधमा कर्मचारीहरुले बुधबार मुख्यसचिवमार्फत लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा उनीहरुले अनावश्यक खर्च नथप्न र कर्मचारीलाई दुःख नदिन आग्रह गरेका छन् ।

निर्वाचन सम्पन्न नभैसकेको अवस्थामा आचारसंहिताविपरीत बुटवलबाट कार्यालय सार्ने काम भएको भन्दै कर्मचारी युनियनहरुले आलोचना गरेका छन् । कानून विपरीत र आचारसंहिता विपरीत हुनुका साथै कर्मचारीहरुको लागि आवास सुविधा, बालबालिकाका लागि शैक्षिक संस्थाको व्यवस्था तथा स्वास्थ्य सुविधालगायतका आधारभूत आवश्यकताका संरचना पूरा नहुँदै राजधानी दाङ लैजाने कुरा अव्यवहारिक भएको उनीहरुको दाबी छ ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी इन्चार्ज दधिराम मरासिनीले दुई वर्षदेखि कुनै संरचना नथपिएको देउखुरीमा तत्काल कर्मचारी गएर काम गर्नसक्ने अवस्था नभएको बताए । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सुविधासँगै सुरक्षाको विषयमा सरकार गम्भीर बन्न उनले आग्रह गरे ।

नेपाल निजामती कर्मचारी संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्यायले जबरजस्ती कुर्सी टेवल लगेर राजधानीमा थुपारेर नहुने बताए । उपयुक्त खालको निजामतीमैत्री पूर्वाधार तयार भएपछि कर्मचारीहरु त्यस ठाउँमा काम गर्न जान तयार रहेको उनको भनाइ छ । उनले रातारात पोको पारेर राजधानी सार्ने कुरा असम्भव भएको बताए ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष मदन गौतमले सरकारले कुनै संरचना र आधार सिर्जना नगरी जबरजस्ती राजधानी सार्न खोजे सम्पूर्ण कर्मचारीहरु आन्दोलनमा होमिने चेतावनी दिए । सरकारलाई निर्णय सच्याउन आग्रह गर्दै उनले आवश्यक परे आन्दोलनका लागि सबै कर्मचारी उतार्न तयार रहेको चेतावनी दिए ।

कर्मचारी संगठनहरुको ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कर्मचारीहरुको मागका बारेमा आफू सकारात्मक रहेको बताएका थिए । निर्वाचन आचारसंहिता लागू भएसँगै विगत एक महिनादेखि मन्त्रिपरिषदको बैठक नबसेका कारण राजधानीको संरचना सार्नेबारे कुनै पनि आधिकारिक निर्णय नभएको उनले उल्लेख गरे ।

प्रदेशसभाले लुम्बिनीको स्थायी राजधानी दाङको देउखुरी हुने निर्णय गरेका कारण कुनै न कुनै दिन बुटवलबाट राजधानीका संरचना सार्नैपर्ने उनको भनाइ थियो ।

प्रदेशका मन्त्रालय अस्थायी संरचनामा भए पनि आफ्नै कार्यकालमा लैजाने अडानमा मुख्यमन्त्री कुलप्रसाद केसी रहँदै आएका छन् । तर, कर्मचारी र उनकै दलभित्रका सांसद र सरकारमा रहेका दल तथा मन्त्रीहरुको विरोधले उनी रोकिएका थिए । यसअघि यस्तै तयारी गरेको समयमा गृहमन्त्री बालकृष्ण खाणले हतारमा मन्त्रालय सार्ने काम भएकोमा बाटैबाट खोसेर ल्याउने अभिव्यक्ति दिएका थिए । निर्वाचन सकिएसँगै मुख्यमन्त्री केसी पुनः सक्रिय भएका छन् ।

मुख्यमन्त्री केसी, पूर्वसभामुख एवं हालै रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्णबहादुर घर्ती, अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालगायतको दबाबमा मन्त्रालय सार्न खोजिएको कर्मचारी संगठनका नेताहरूले बताएका छन् ।

राप्ती प्राविधिक शिक्षालयको भवनमा मन्त्रालय राख्ने गरी तयारी भइरहेको छ । तर, त्यस्तो पूर्वाधारमा मन्त्रालय राख्न सम्भव नहुने र कर्मचारीहरु आवासको व्यवस्था नभई जाने स्थिति नभएको कर्मचारीहरु बताउँछन् ।

‘स्थायी संरचनाहरू बनेपछि सार्ने कुरामा हाम्रो बिमति हुन सक्दैन । तर, पूर्वाधार तयार नहुँदै हतार गर्नुका पछाडि अब बन्ने प्रदेश सरकारलाई अप्ठयारो पार्ने गलत नियत लुकेको प्रस्ट छ’, नेपाल निजामती कर्मचारी संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्यायले भने, ‘चुनाव बल्ल सकिँदैछ । यसपछि बन्ने सरकारले सोच्ने विषयमा काम चलाउ र म्याद सकिएको सरकारले हतार गर्नु अनुचित हो ।’

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend