• Saturday 24th October 2026

दसैँको खुसीमा मोटरसाइकलको ठक्कर, बाबुछोरा अस्पतालमा; उपचार गर्न आर्थिक अभाव

दसैँको खुसीमा मोटरसाइकलको ठक्कर, बाबुछोरा अस्पतालमा; उपचार गर्न आर्थिक अभाव


  • लुम्बिनी रिभ्यू

बुटवल,  दसैँको टीका लगाउन हिँडेका बाबुछोरालाई मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाइएको मोटरसाइकलले ठक्कर दियो । दसैँको खुसी एकाएक अस्पतालको पीडामा बदलियो । बाबुको हात भाँचिएको छ, छोराको शरीरका विभिन्न भागमा चोट र भाँचिने समस्या छ । अहिले काठमाडौंको बिएनबी अस्पतालमा उपचाररत छोरालाई उपचार खर्च जुटाउनै मुस्किल परेको छ ।

यो घटना बुटवलको बेलबासमा दसैँकै दिन भएको हो । दुर्घटनामा बुटवल–बेलबासका ३५ वर्षीय नारायण खनाल र उनका १४ वर्षीय छोरा अनमोल खनाल घाइते भएका हुन् । उनीहरू अहिले काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचाररत छन् ।

दसैँको दिन दिउँसो साढे २ बजे लु ८९ प ८६६५ नम्बरको स्कुटीमा बुटवलबाट नयाँगाउँतर्फ जाँदै गरेका नारायण र उनका छोरालाई नयाँगाउँबाट बुटवलतर्फ आउँदै गरेको लु प्र ०१०१६ प ९६१९ नम्बरको पल्सर मोटरसाइकलले बेलबासमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक कमलप्रसाद भण्डारीले मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको थियो । ठक्कर दिएपछि भागेका भण्डारीलाई प्रहरीले झोलुङ्गे पुलबाट पक्राउ गरेको थियो । उनी अहिले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् ।

दुर्घटनामा बाबु नारायणको हात भाँचिएको छ ।छोरा अनमोलको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डी भाँचिएको  छ । उपचार काठमाडौंमा भइरहँदा परिवारलाई आर्थिक भार थपिएको छ ।

नारायणका अनुसार दुर्घटना गराउने पक्षले आवश्यक उपचार खर्च उपलब्ध गराएको छैन । यसले उपचारका लागि समस्या भएको छ ।

दसैँको दिन लापरबाहीपूर्ण सवारी चलाउँदा एउटै परिवारका बाबुछोरा अस्पताल पुग्नुपरेको छ । घाइतेको उपचार र आवश्यक उपचार खर्च उपलब्ध नहुदा उनीहरूलाई थप पीडामा पारेको छ । दुर्घटनाको जिम्मेवारी र उपचार खर्चको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend