बुटवल – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको छ ।
अहिलेसम्म ४७ जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीमा ५ जना सम्पर्कविहीन रहेका भए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि एक्कासी लेदो र गेग्रानसहितको बाढी आएको प्रारम्भिक अनुमान छ ।
बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने २ वटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा क्षति पुगेको छ ।बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ । न्याकचेतदेखि सिर्दिबास जोड्ने झोलुङ्गे पुल तथा धार्चेको माछीखोलाबाट केरौजा जोड्ने पुलमा क्षति पुगेको छ ।बाढीले सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा आयोजनाको विद्युत्गृह र आसपासका घरमा क्षति पुगेको छ ।
धार्चेको माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको छ भने सल्लेरीका केही घर जोखिममा रहेका छन् ।सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको छ । सेनाका ४ वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हवाई उद्धारको काम भइरहेको छ । उद्धार कार्यमा ४३७ सुरक्षाकर्मी परिचालन भएका छन् ।

लुम्बिनी रिभ्यू