अमृता अनमोल
बुटवल , ४४ हजारभन्दा बढी सदस्य, झण्डै ४ अर्ब रुपैयाँ बचत र ४ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कुल सम्पत्ति । आर्थिक आकार विस्तार गर्दै आएको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।
सेवा केन्द्रस्तरीय एकाइगत साधारणसभा सम्पन्न गरेपछि संस्थाले असोज १७ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित साधारणसभा गरेको हो । सभाले संस्थाको आगामी कार्यदिशासहित करिब २२ वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

संस्थाका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ४४ हजार ३ सय ६९ सदस्य पुगेका छन् । सदस्यबाट ३१ करोड २२ लाख ९९ हजार रुपैयाँ शेयर पुँजी संकलन भएको छ ।
त्यस्तै, संस्थामा ३ अर्ब ९८ करोड २२ लाख ४८ हजार रुपैयाँ बचत संकलन भएको छ भने ३ अर्ब ३६ करोड ७८ लाख रुपैयाँभन्दा बढी ऋण लगानी भएको छ । संस्थाको शुद्ध बचत १० करोड ५३ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
जनउत्थानको कुल सम्पत्ति पनि बढेर ४ अर्ब ८१ करोड ६० लाख ७९ हजार रुपैयाँभन्दा बढी पुगेको छ । जगेडा कोषमा मात्रै ४० करोड ७२ लाख ९६ हजार रुपैयाँभन्दा बढी रकम रहेको संस्थाले जनाएको छ ।
सभामा कोषाध्यक्ष निलप्रसाद पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षको मुनाफाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरण गरिने जानकारी गराए ।

संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले सदस्यलाई व्यवसायिक रूपमा सक्षम बनाउने र सदस्यको विश्वास कायम राख्ने गरी संस्थाले काम गरिरहेको बताए ।
जनउत्थानले एशियाली ऋण महासंघको फोरम–२०२६ बाट पुनः ‘एक्सेस सिल्भर ब्राण्ड’ प्राप्त गरेको जनाएको छ । संस्थाले वित्तीय साक्षरता, सहकारी शिक्षा तथा सदस्यको जीवनचक्रलाई लक्षित विभिन्न बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सभामा बोल्दै संस्थाकी पूर्वअध्यक्ष तथा सांसद ज्ञानु पौडेलले जनउत्थानले तिलोत्तमा र रुपन्देही मात्रै नभई राष्ट्रिय स्तरमै सहकारी क्षेत्रको पहिचान बनाउन योगदान गरेको बताइन् ।
त्यस्तै, उपाध्यक्ष सरु रानाले सदस्य केन्द्रित कार्यक्रमकै कारण संस्थाले सदस्य तथा समुदायको विश्वास जित्न सफल भएको बताइन् ।

जनउत्थानको वित्तीय गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि प्राथमिकतामा छन् । विद्यालय विकास अक्षयकोष, युवा विकास अक्षयकोष, आमा समूह तथा टोल विकास प्रोत्साहन, स्वास्थ्य शिविर, छात्रवृत्ति, रक्तदान, विपद्मा सहयोग, युवा क्लब सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।
हालै विभिन्न स्थानमा प्रतिक्षालय निर्माण तथा बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको संस्थाले जनाएको छ ।
यसैबीच, जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् ।
रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको जनउत्थानले हाल १० वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आएको छ।

लुम्बिनी रिभ्यू