बुटवल, १० वर्षीया बालिकालाई मध्यरातमा घरबाटै अपहरण गर्ने अभियुक्तलाई रुपन्देही प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
तिलोत्तमा–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई प्रहरीले शनिबार राति जंगलमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार असोज १४ गते बुधबार राति बालिका घरमै भाइसँग सुतिरहेको अवस्थामा अपहरणमा परेकी थिइन्। घरबाहिर हजुरबुवा र हजुरआमा सुतिरहेका थिए।राति करिब २ बजे बालिकालाई ओढ्ने ओढाइदिन जाँदा बिस्तारामा नभेटिएपछि परिवारले खोजी थालेको थियो।
प्रहरीले करिब ३८ घण्टापछि शुक्रबार साँझ तिलोत्तमाको कान्छी बजारनजिकैको जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो।
बालिका भेटिएको स्थानमा फेला परेको मोबाइलका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको थियो।बालिका उद्धार भएपछि पनि अभियुक्त भने फरार थिए। त्यसपछि प्रहरीले जंगल क्षेत्रमा सर्च एन्ड स्विप अपरेसन जारी राखेको थियो।अन्ततः शनिबार राति करिब १ बजे जंगलमै लुकेर बसेको अवस्थामा प्रहरीले थारुलाई फेला पारेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा थारु प्रहरीमाथि जाइलागेपछि एक राउन्ड गोली प्रहार गरिएको थियो। गोली उनको घुँडामा लागेको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो।
अब प्रहरीले अनुसन्धानको अर्को महत्वपूर्ण पाटो अघि बढाएको छ—३८ घण्टासम्म जंगलमा बन्धक बनाइएकी बालिकामाथि शारीरिक वा यौनजन्य हिंसा भएको थियो कि थिएनर?बालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ। चिकित्सकीय परीक्षणको प्रतिवेदन, बालिकाले दिएको प्रारम्भिक जानकारी र घटनास्थलबाट संकलित प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।अब बालिका अपहरणको कारण, उनलाई जंगलमा किन लगियो र सो अवधिमा उनीमाथि के भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेका थारु यसअघि पनि आपराधिक गतिविधिमा जोडिएका व्यक्ति हुन्। २०८० सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका उनीमाथि मोटरसाइकल तथा मोबाइल चोरीका घटनामा समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

लुम्बिनी रिभ्यू