उषाकिरण पन्थ
बुटवल, अखिल नेपाल महिला संगठनको रुपन्देही जिल्ला एकता भेला सम्पन्न भएको छ। भेलाले कुमारी घर्तीको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। कमिटीको सह–संयोजकमा मालती अधिकारी चयन भएकी छन्।
भेलालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संगठन प्रदेश इन्चार्ज राजेन्द्रलक्ष्मी गैरैले निर्वाचन नजिकिँदै गएको अवस्थामा महिला दिदीबहिनीहरू उम्मेदवार बन्ने दाबीसहित तयार हुनुपर्ने बताइन्। उनले महिलाहरूलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन्।
गैरैले वर्तमान सरकार जनताको मतबाट राज्यसत्ता सञ्चालन गर्ने अवस्थामा पुगे पनि त्यही वर्गमाथि नै दुःख दिने काम भइरहेको आरोप लगाइन्। उनले सुकुम्बासीमाथि डोजर चलाउने, युवाहरूलाई आगो लगाएर ज्यान गुमाउन बाध्य बनाउनेलगायतका गतिविधि भइरहेको दाबी गर्दै सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरिन्।
उनले अहिलेका युवाले पुराना राजनीतिक शक्तिबाट मात्रै परिवर्तन सम्भव नहुने बुझिसकेको दाबी गर्दै नयाँ शक्तिबाट पनि अपेक्षित परिणाम नआउन सक्ने अवस्था देखिएको बताइन्। प्रधानमन्त्रीले संविधान मिच्ने गरी संसद्मा आफ्नो प्रस्तुति देखाइसकेको आरोप लगाउँदै सबै राजनीतिक शक्ति एकताबद्ध भएर संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिइन्।
त्यस्तै, अखिल नेपाल महिला संगठन घ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक पुनम श्रीपालीले महिलाको संख्या जम्मा गर्दैमा मात्र संगठन बलियो नबन्ने बताइन्। संगठनका सदस्यहरूले विचार र सिद्धान्त ग्रहण गरी वैचारिक रूपमा संगठनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।

श्रीपालीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलामाथि हुने हिंसाका विरुद्ध सशक्त र बुलन्द आवाज उठाउन सक्ने संगठन निर्माण गर्नुपर्नेमा जोड दिइन्। महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई संगठनको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
भेलामा नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज निर्मल जिसीले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राख्दै बालेन नेतृत्वको सरकार बनेपछि देशको शक्ति सन्तुलनमा समेत खलबल पुगेको आरोप लगाए। उनले अमेरिकी साम्राज्यवादलाई नेपालमा प्रत्यक्ष प्रवेश गराउने काम भइरहेको दाबी गर्दै अमेरिकाले सेना र सेनाले बालेनलाई चलाउने अवस्था बनेको आरोपसमेत लगाए।
भेलाले नयाँ जिल्ला कमिटी गठनसँगै रुपन्देहीमा महिला संगठनलाई थप व्यवस्थित, वैचारिक र राजनीतिक रूपमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

लुम्बिनी रिभ्यू