५ वर्षमा ३ सय २४ को मृत्यु, अस्पताल सुधारिए सेवा सुधारिएन
अमृता अनमोल
बुटवल , गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका ४ हजार १ सय जना गर्भवती घरमै सुत्केरी भए । त्यसमध्येका १४ जनाको मृत्यु भयो । स्वास्थ्य संस्थामा गएका भए उनीहरुको ज्यान जोगिन सक्थ्यो ।स्वास्थ्य संस्थामा जादैं गर्दा १२ जनाले ज्यान गुमाए । घरनजिक अस्पताल÷स्वास्थ्य चौकी भएको भए उनीहरु पनि बाँच्न सक्थे ।स्वास्थ्य संस्थाबाट विशेषज्ञ अस्पताल जादा नौ जनाको बाटोमै मृत्यु भयो । पायक पर्ने ठाउँमा विशेषज्ञ सेवा भएको भए उनीहरुले मर्नु पर्दैनथ्यो । गर्भ र प्रसुतिस“गसम्बन्धित कारणले लुम्बिनी प्रदेशमा गत वर्ष ७४ आमाले ज्यान गुमाए । यसरी मर्नेमा सबैभन्दा धेरै बांकेका ३२ र रुपन्देहीका २३ जना थिए । बर्दियाका ४, पाल्पा, रोल्पा, प्युठानका ३÷३ जना, दाङ र कपिलवस्तुका २÷२ जना एवं अर्घाखाची र गुल्मीका एक एक जनाले ज्यान गुमाए ।
लुम्बिनी प्रदेशमा आमा बन्दा ज्यान गुमाउने महिला वर्षेनि बढ्दैछन् । पछिल्लो ५ वर्षमा आमा बन्दा ३ सय २४ जना मृत्युको मुखमा पुगे । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आव ७४ ÷७५ मा प्रदेशका ५३ महिलाहरुले आमा बन्दा ज्यान गुमाए । यो संख्या बढेर आव ७५ ÷७६ मा ५४ पुग्यो । आव ०७६ ÷७७ मा ७१ , आव ७७ ÷७८ मा ७२ र आव ७८ ÷७९ मा ७४ आमाको मृत्यु भएको छ ।
मातृमृत्युका कारण धेरै छन् । प्रसुति हुनुपूर्व वा प्रसुतिपछि अत्यधिक रक्तश्रावले सबैभन्दा बढी २३ प्रतिशत सुत्केरीको मृत्यु हुने स्वास्थ्य मन्त्रालयकी नर्सिड. अधिकृत सुनिता ज्ञवाली बताउछिन् । यसलाई पोस्टपार्टम हेमोरोज भनिन्छ । सुत्केरी भएपछिको संक्रमण, गर्भावस्थामा उक्त रक्तचाप र असुरक्षीत प्रसुति तथा गर्भपतनले गर्दा यसो हुनेगर्छ । गर्भावस्थामा स्वास्थ्यमा ख्याल गर्ने हो भने यस्तो मृत्यु घटाउन सकिने उनले बताइन् । ‘स्वास्थ्य संस्था टाढा हुदा लैजादा लैजादै, अस्पतालले रेफर गरेपछि विशेषज्ञ अस्पतालमा वेलैमा नपुग्दा वा अलमलिदा, परिवारले स्वास्थ्य संस्था लाने कि नलाने भनेर निर्णय लिन ढिला हुदा र घरमै बच्चा जन्माउदा धेरै आमाको ृमृत्यु भएको देखिन्छ,’ उनले भनिन् ।
लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिका मध्ये १३ वटाले मात्रै घरमा प्रसुति हुने दर शुन्यमा झारेका छन् । नियमित गर्भ परिक्षण नगर्दा, घरमै प्रसुति हुँदा वा विशेषज्ञ अस्पताल नजाँदा धेरै आमाहरुले ज्यान गुमाएका छन् । त्यसमध्येकी हुन्, रोल्पाको रोल्पा नगरपालिका–१० धबाङकी ३० वर्षिय माया थापा । उनलाई गएको जेठ १८ मा प्रसुती वेथा लाग्यो । बच्चा नजन्मेपछि जेठ १९ मा उनलाई रोल्पा अस्पताल लगियो । परिक्षणपछि चिकित्सक डा. प्रकाशबहादुर बुढाले गर्भवतीमा उच्च रक्तचाप देखिएकाले र जुम्ल्याहा शिशु भएकाले शल्यक्रिया गर्नुपर्ने भएकाले दाङ वा बुटवल जान सुझाब दिए । मायाका पति विदेश थिए । घरपरिवारले धेरै खर्च लाग्ने भन्दै प्रसुति गराउन अन्त लगेनन् । बरु घर लगे । जेठ २० मा उनले घरमै जुम्ल्याहा शिशु जन्माइन् । तर, सुत्केरीपछि रक्तश्राव रोकिएन । त्यसपछि बेहोस भएकी उनको मृत्यु भयो । ‘अस्पतालको सुझाब अनुसार सुविधासम्पन्न अस्पतालमा गएको भए उनको ज्यान बच्थ्योे,’ डा. बुढा बताउछन् ।
स्वास्थ्य सस्थामा प्रसुति गराउने आवश्यक उपकरण र दक्ष जनशक्ति नहुदा एवं पूर्व तयारी नगर्दा पनि आमाहरु मृत्युको मुखमा धकेलिएका छन् । स्वास्थ्य संस्था पुगेपनि नजीक विशेषज्ञ अस्पताल नहु“दा र त्यस्ता अस्पताल जा“दा हुने ढिलाइले पनि आमाहरुले ज्यान गुमाएका छन् । प्यूठानको झिमरुक गाउ“पालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसी त्यसमध्येकी हुन् । अघिल्लो फागुन १३ मा प्रसुति हुन प्युठान अस्पताल गएकी उनलाई जटिलता देखिएको भन्दै अस्पतालले शल्यक्रिया गरिदियो । सल्यक्रियापछि थप जटिलता देखिएको भन्दै १५ गते राति बुटवल रेफर गरिदियो । उपचारका लागि परिवारले बुटवल लैजाने क्रममा फागुन १६ मा बाटो मै मृत्यु भयो । आफन्त विनोद एसीले भने, ‘प्युठान अस्पतालले लापरबाही गर्यो । जटिलता देखिएपछि तत्काल रेफर गरेको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो ।’
कतिपय अवस्थामा चिकित्सकको असावधानीले गर्दा विशेषज्ञ अस्पताल पुगेका महिलाले पनि आमा बन्दा ज्यान गुमाएका छन् । अघिल्लो २१ मंसिरमा रुपन्देहीको देवदह मेडीकल कलेजमा त्यस्तै भयो । शल्यक्रिया द्धारा प्रसुति गराइएकी तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको त्यसपछि पनि २ पटक शल्यक्रिया भयो तर, उनी बचीनन् । मृतककी दिदी फुलमती थारुका अनुसार मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्मेको थियो । शल्यक्रिया भएको ४ घण्टापछि घाउबाट रगत बग्न थाल्यो । त्यसैदिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरियो । रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो शल्यक्रिया गरियो । त्यसपछि बेहोस भएकी उनलाई तीनदिनपछि अस्पतालले मृत घोषणा गर्यो । ‘अस्पतालले गर्भवती बहिनीलाई प्रयोगशाला जस्तै बनाएर प्रयोग गरी गरी ज्यान लियो,’ दिदी फुलमतीले भनिन् ।
आमा बन्दा सजिलो होस् भनेर लुम्बिनी प्रदेशमा ४ सय ६ वटा बर्थिड. सेन्टर छन् । गर्भमा जटिलता भए शल्यक्रिया सहितको निशुल्क सेवा दिने २२ वटा अस्पताल छन् । लुम्बिनी, भेरी र राप्ती विशेषज्ञ सेवासहितका अस्पताल हुन् । ८४ जना नर्सहरु अल्टा्रसाउण्ड सेवासहित घरदैलोमा खटेका छन् । तर, लुम्बिनीमा मातृमृत्युदर घटेको छैन । प्रदेशमा मातृमृत्युदर कति छ ? त्यसको छुट्टै एकिन तथ्यांक छैन । जनगणना २०७८ अनुसार देशमा प्रतिलाखमा १ सय ५१ जनाको मृत्यु हुन्छ । लुम्बिनी प्रदेशमा प्रतिलाखमा २ सय ७ मातृमृत्यु रहेको देखाएको छ । जुन सातवटै प्रदेशमा भन्दा धेरै हो ।
जोखीममा परेका दुर्गमका गर्भवती तथा सुत्केरी महिलालाई तत्काल अस्पताल ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले निःशुल्क हवाई सेवा दिने गरेको छ । त्यसमा लुम्बिनी प्रदेशका रुकुम, रोल्पा, प्युठान, अर्घाखा“ची, पाल्पा र गुल्मीका केही स्थान छनोट भएका छन् । स्वास्थ्य निर्देशनालयका फोकल पर्सन कौशलराज भण्डारीले अस्पतालसित सम्झौता नहु“दा जोखीमका सुत्केरीलाई पनि निशुल्क हेलिकोप्टर सेवा दिएर उद्धार गर्न नसकिएको बताए । स्वास्थ्य संस्थामा दरबन्दी अनुसार प्रसुतिवीज्ञ र नर्सिङ स्टाफ नहु“दा र कतिपयमा भौतिक पूर्वाधार कमजोर हु“दा पनि सहज प्रसुति सेवा पाएका छैनन्,’ उनले भने, ‘यसले मातृमृत्यु घटाउन चुनौति थपेको छ ।’
लुम्बिनी प्रदेश सरकारले गर्भवतीलाई स्वास्थ्य सस्था जान निशुल्क एम्बुलेन्सको व्यवस्था गर्न यसवर्षदेखि हरेक पालिकामा ६० हजार रुपैया“ र जिल्ला तहका अस्पताललाई रेफर गर्दा एम्बुलेन्स व्यवस्था गर्न भन्दै २ लाख रुपैया“ पठाएको छ । जिल्लातहका अस्पतालबाट विशेषज्ञ अस्पताल लैजानुपर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा उपलब्ध गराउन २ लाखभ रुपैया“ दिन्छ । संघीय सरकारले गर्भपरिक्षणलाई बढाउन ४ पटक गर्भजा“च गर्नेलाई ७ सय रुपैया“ र स्वास्थ्य संस्थामा प्रसुति हुन जानेलाई यातायात खर्चवापत रकम पनि दिने गरेको छ । विकटका स्थानीय तहमा गर्भवती महिलाको घरघरमै परिक्षण थालेको छ । निमित्त स्वास्थ्य सचिव डा. विनोदराज गिरी घरमा प्रसुति हुने र उपचारमा अलमलमा पर्नेको संख्या घटाउन नसक्दासम्म मातृमृत्युदर घटाउन नसकिने बताउछन् ।
आमा सुरक्षित हुनका लागि सुरक्षित रुपमा प्रसुति हुनुपर्छ, आफू स्वस्थ हुदै स्वस्थ शिशु जन्माउनुपर्छ र आफू तथा नवशिशुलाई स्तरीय सेवा प्रदान गर्नुपर्छ । अधिकारकर्मीहरु गर्भवती, प्रसुति, सुत्केरी र नवशिशुको सेवालाई अधिकारमुखी दृष्टिबाट पैरवी गर्दा मात्रै मातृमृत्युदर घटाउन र सुरक्षीत आमा बन्न सघाउने बताउछन् । प्रजनन स्वास्थ्यबारेकी जानाकार अधिकारकर्मी ज्ञानु पौडेल भने मातृमृत्युदर घटाउन घरपरिवारमा अपनत्वबोध र राज्यले जिम्मेबारी बोध गर्नेगरी काम गर्नुपर्ने बताउछिन् । ‘ यौटी महिला आमा बन्नु भनेको देशकालागि नया नागरिक जन्माउनु हो । त्यसैले गर्भवतीका हरेक जटिलतालाई सहजै उपचार अपनत्व लिने गरी राज्यले सेवामा पहु“च र गुणस्तर बढाउन जरुरी छ ।’ उनले भनिन् ।
नेपालको संविधानले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हक दिएको छ । सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहु“चयोग्य बनाउन सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ लागू गरिएको छ । यसले महिला गर्भवती हुने वा नहुने रोज्न पाउनेदेखि राज्यबाट सुरक्षित मातृत्व सेवा पाउनु पर्ने अधिकारलाई समेट्छ । भरपर्दो सेवा दिनुपर्ने राज्यको कर्तव्य हो । भीम अस्पताल भैरहवाका मेडिकल सुपरीटेन्ट तथा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. शकुन्तला गुप्ता सुरक्षीत आमा बन्न गर्भवतीसंगै उनको परिवारलाई सही परामर्श नहुदा मातृमृत्यु नघटेको बताउछिन् । ‘राज्यले महिलाको गर्भमा शिशु रहेदेखि जन्मिनेबेलासम्म रेखदेख गर्ने, सारीरिक र मानसिक रुपमा परामर्श सहितको सेवा दिने दक्ष प्रसुतिकर्मी अर्थात मिडवाइफको संख्या बढाउनु पर्छ,’ उनले भनिन्, ‘ गर्भवती र सुत्केरीको रेखदेख र उपचारमा परिवारलाई अभिमुखीकरण गरिनुपर्छ ।’

लुम्बिनी रिभ्यू