• Saturday 25th July 2026

सुरक्षीत मातृत्व र लैंगिक हिंसा विरुद्ध अगुवा महिला परिचालन

सुरक्षीत मातृत्व र लैंगिक हिंसा विरुद्ध अगुवा महिला परिचालन

अगुवा महिलाहरु स्थानीय महिला समूह, स्वास्थ्य समूह, युवा क्लब, बाल क्लब, आयआर्जन समिति, वचत समिति लगायतमा गएर प्रजनन स्वास्थ्य, सुरक्षीत मातृत्व, परिवार योजना र गर्भपतनबारे जानकारी गराउछन् । गाउंकै दिदीबैनीले प्रजनन स्वास्थ्यबारे सिकाउदा त्यसको सकरात्मक प्रभाव समेत देखिन थालेको छ ।


  • लुम्बिनी रिभ्यू

विन्दु थापा
पाल्पा ­ नेपालको संविधानको धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक हुनेछ’ भनिएको छ । सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक महिलामा केन्द्रीत भएपनि प्रजनन स्वास्थ्य अधिकारभित्र प्रत्येक दम्पती तथा व्यक्तिले सन्तान जन्माउने वा नजन्माउने, कति सन्तान जन्माउने, जन्मान्तर कति राख्ने लगायतबारे स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय लिन पाउने विषय पर्छन् । तर, धेरै महिला यही अधिकारबारे अन्जान छन् ।
महिलाहरुलाई प्रजनन स्वास्थ्य, सुरक्षीत मातृत्व र लैंगिक हिंसा विरुद्ध जानकार गराउन पाल्पाका स्थानीय तहमा सामाजिक अगुवा महिलाहरुमार्फत चेतना प्रवाह थालिएको छ । अगुवा महिलाहरु स्थानीय महिला समूह, स्वास्थ्य समूह, युवा क्लब, बाल क्लब, आयआर्जन समिति, वचत समिति लगायतमा गएर प्रजनन स्वास्थ्य, सुरक्षीत मातृत्व, परिवार योजना र गर्भपतनबारे जानकारी गराउछन् । गाउंकै दिदीबैनीले प्रजनन स्वास्थ्यबारे सिकाउदा त्यसको सकरात्मक प्रभाव समेत देखिन थालेको छ ।
समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीले आइपास नेपालको सहयोगमा प्रजनन स्वास्थ्य सुधारका कार्यक्रम थालेको हो । यसअन्तरगत बेलाबेलामा त्यहा चेतना प्रवाहका काम हुन्छन् । सरोकारवालाहरुलाई सजग बनाइन्छ । सेवाग्राहीलाई पहुंचमा पुर्याउने काम गरिन्छ । त्यसबाहेक सामाजिक रुपमा अगुवा महिलाहरुलाई चेतनाप्रवाहका लागि खटाइन्छ । उनीहरु स्थानीय समूहमा गएर प्रजनन स्वास्थ्यबारे जानकारी दिन्छन् र चेतना प्रवाह गर्छन् ।
प्रजनन स्वास्थ्य अन्तरगत महत्वपूर्ण ९ विषय पर्छन् । त्यसमा परिवार नियोजन, सुरक्षित मातृत्व,नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार,गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरूको रोकथाम तथा उपचार,यौन रोग संक्रमण एवं एचआईभी र एड्स, बा“झोपनको रोकथाम तथा उपचार
किशोरकिशोरीहरूको प्रजनन स्वास्थ्य,लैगिंकतामा आधारित हिंसाको रोकथाम तथा उपचार एवं प्रौढ महिलाहरूको प्रजनन स्वास्थ्य समेतका विषय पर्छन् । ती हरेक विषयमा समूहमा जानकारी गराइन्छ । प्रजनन स्वास्थ्य भनेको हरेक मानीसहरु शारिरीक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन् प्रणाली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । सचेतना अभियानमा समूहमा यसबारे पनि प्रष्ट पारिन्छ । प्रत्येक व्यक्तिलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवा परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार हुन्छ । यसबारे पनि समूहमा स्पष्ट पार्ने रम्भा गाउपालिका हुंगाकी सामाजिक अगुवा शान्ता भण्डारीले बताइन् ।
महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन पुरुष तथा युवकको भूमिका महत्वपूर्ण हुन्छ । परिवार योजना बनाउन, मातृशिशु मृत्युदर कम गर्न र स्वस्थ बनाउन पुरुषले आफ्नो जिम्मेवारीका रूपमा लिनु आवश्यक छ । पुरुष सहभागिता बढे मात्रै व्यक्तिको प्रजनन स्वास्थ्य राम्रो बनाउन र मातृशिशु मत्युदर कम गर्न सकिन्छ । यही मान्यताका आधारमा महिला समूहसंगै कहिलेकाही दम्पतीबीच पनि अन्तरक्रिया र छलफल चलाउने गरिएको तानसेन नगरपालिका ११ की सामाजिक अगुवा विष्णु ठडराईले बताइन् ।
छलफलमा गर्भवतीका पतिसहित दम्पतीलाई गर्भावस्था, सुत्केरी अवस्था र शिशुको स्वास्थ्यमा ख्याल गर्नुपर्ने कुराबारे अभिमुखीकरण गर्छ । उक्त अभिमुखीकरणमा मातृशिशु स्वास्थ्यका लागि पुरुषलाई प्रतिवद्धता समेत गराउछ ।
स्वास्थ्य विज्ञहरुका अनुसार प्रजनन स्वास्थ्य भनेको हरेक मानिस शारीरिक, मानसिक तथा सामाजिक रुपमा नै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । यसले मानिसका प्रजनन प्रणाली, स्वस्थ प्रजनन् अंगहरू, प्रजनन् र यौन सम्बन्धी सम्पूर्ण विषयहरु बुझाउछ । यौन तथा प्रजनन स्वास्थ्य भ्रुण अर्थात् आमाको गर्भमा हुँदादेखि मानिस नमरुन्जेलसम्म सम्बन्धित छ । यसमा व्यक्तिहरुले सुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् । आफूले चाहेको परिवार नियोजनका विविध साधन र विधिहरुको छनोट एवं उपयोग गर्न पाउने अधिकार प्रजनन् स्वास्थ्य भित्र पर्दछ । प्रजनन स्वास्थ्य सेवाहरुका क्षेत्रमा परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार, गर्भधारणको कारण उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार, यौन रोग संक्रमण, एचआइभी र एड्स, बाझोपनको रोकथाम तथा उपचार, किशोरकिशोरीहरुको प्रजनन स्वास्थ्य, लैंगिकताका आधारमा हुने हिंसाको रोकथाम तथा उपचार र प्राढ महिलाहरुको प्रजनन् स्वास्थ्य पर्दछन् । नजीकका स्वास्थ्य संस्थामा सहज रुपमा सेवा दिउन् भन्ने उद्धेश्यले धेरैजसो स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका र जनप्रतिनिधिहरुलाई समेत जानकारी गराउने गरेको रम्भा गाउ“पालिका फोक्सीङकी कोपिला सारुले बताइन् ।
अधिकारकर्मीहरुका अनुसार प्रजनन स्वास्थ्यलाई धेरैले अझैपनि यौटी स्वस्थ महिलाले स्वस्थ शिशु जन्माउने प्रक्रिया मात्र बुझेको पाइन्छ । तर, प्रजनन स्वास्थ्य यौटा व्यक्ति र परिवारका लागि अपरिहार्य भएकाले त्यसअनुसार बुझाउन दृष्टीकोणमै परिवर्तन आवश्यक छ । समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीका प्राविधिक सल्लाहकार बाबुराम पौडेलले प्रजनन स्वास्थ्य सुधार्न महिलालाई केन्द्र भागमा राखेर पुरुषको भूमिका बढाउदा सहज हुने भएकाले त्यसअनुसार काम गरेको बताए । ‘प्रजनन स्वास्थ्य महिलाको मात्रै विषय होइन हरेक व्यक्ति र पारिवारिक मामिलाको विषय हो । यसर्थ प्रजनन स्वास्थ्यका हरेक चरणमा पुरुषको भूमिका र कर्तव्य जोड्नुपर्छ ।’ उनले भने, ‘त्यसअनुसार महिलालाई केन्द्रमा राखेर पुरुषको भूमिका बढाउने गरेका छौं ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend