
बुटवल। रूपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका संचालक माधवलाल देवकोटासहित दुई जनाकाे मृत्यु भएको छ । मोटरसाइकलमा रहेका देवकाेटासँगै रहेकी तिलोत्तमा नगरपालिका – २ जानकीनगर बस्ने यादा क्षेत्रीकाे पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
शंकरनगरबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका उनीहरूलाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको र दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताए ।
लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा उनीहरू तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदा ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन् । ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरु दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।
तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका संचालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकार हुन् ।

लुम्बिनी रिभ्यू