• Saturday 25th July 2026

आचार्यलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

आचार्यलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार


  • लुम्बिनी रिभ्यू


बुटवल।
रुपन्देही उद्योग संघले प्रदान गर्ने उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार ०७९ बाट दैनिक पत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको समन्वयमा संघले स्थापना गरेको ४६१५५ राशीको पुरस्कारसहित आचार्यलाई पूर्वमन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठले सम्मान गरेका छन् । आचार्य साढे दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा क्रियाशील छन् । संघले शुक्रबार आफ्नो ४६ औं स्थापना तथा औद्योगिक दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान, अग्रज उद्यमी, विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा अग्रज उद्यमीको रुपमा पूर्णप्रसाद सापकोटा, चन्द्रमान श्रेष्ठ र तिलप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट रोजगारदाता उद्योगीको रुपमा डुंगारी गार्मेन्ट उद्योगका यज्ञेश्वर थैव, उत्कृष्ट महिला उद्यमीको रुपमा दिलु् शाही, उत्कृष्ट युवा उद्यमीको रुपमा उपेन्द्र अग्रवाल, उत्कृष्ट कृषि उद्योगीको रुपमा माउन्ट रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिजका वसन्त रोका क्षेत्री, जिल्लाभरीका उद्योगहरुमध्ये उत्कृष्ट उद्योगको रुपमा यशोदा फुड्स प्रालिका चुन्नुप्रसाद पौडेल र उत्कृष्ट पर्यटन उद्योगको रुपमा होटल न्यू इरा बुटवलका सञ्चालक माधव नेपाललाई सम्मान गरिएको छ । त्यस्तै सदस्य उद्योगीका छोराछोरी कान्ति माविमा अध्ययनरत विद्यार्थी मधुसुधन मल्ल र जनज्योती माविमा कक्षा ९ मा अध्ययनरत तुलसा गाहालाई १० हजार १५५ नगद र स्टेशनरी तथा झोला छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो ।
त्यसैगरी संघले स्थापना दिवसको अवसरमा मंसिर १३ गते मानव सेवा आश्रममा स्वास्थ्य परीक्षणसहित खाना खुवाउने कार्यक्रम, मंसिर १४ गते रुपन्देहीमा रहेका संघसंस्थाबीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र मंसिर १५ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरी ६० युनिट रगत संकलन गरी रक्त सञ्चार सेवा केन्द्रमार्फत मानवीय सेवामा समर्पित गरेको छ । स्थापना दिवस समारोहमा ब्याडबिन्टनमा उत्कृष्ट टिमलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा उद्योग संघले खेलेको नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले राज्यको औद्योगिक र भन्सार नीति गलत हुँदा उद्योगी व्यवसायीले समस्या भोग्नु परिरहेको बताए ।
उद्योगी व्यवसायीका मुद्दामा राज्य गम्भीर हुनुपर्ने र आफूले पनि यसका लागि सकारात्मक पहल गर्ने भन्दै श्रेष्ठले यस क्षेत्रको विकासका लागि सबै राजनीतिक दल, उद्योगी व्यवसायी लगायत सबै क्षेत्र एक ठाउँमा उभिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष डम्बरदेव अर्यालले दलहरुको गलत नीतिका कारण अहिलेको व्यवस्थामाथि प्रश्न उठेको र मुलुक झन् झन आर्थिक रुपमा ओरालो लाग्दै गएको भन्दै यसका लागि उद्योगी व्यवसायीहरु चनाखो हुनुपर्ने बताए ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपाल, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल–४ का वडाअध्यक्ष नरिश्वर पौडेल, संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, अग्रज उद्यमी पूर्णप्रसाद सापकोटा, पचिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव हिरामणी भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend