• Saturday 25th July 2026

आजदेखि बुटवलमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन

आजदेखि बुटवलमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन


  • लुम्बिनी रिभ्यू

बुटवल । बुटवलमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिबेशन हुन लागेको छ । बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंसिर २९ देखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना हुन लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले देशभरका शाखाहरुबाट प्रतिनिधिहरु बुटवल आउने क्रम सुरु भएको छ ।

महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् भने मतभार भने १ हजार ४७६ रहेको पोखरेलले जानकारी दिए । उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथिसमेत गरी करिब ४ हजारभन्दा बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।

महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने महाधिवेशनका निर्देशक तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसंगै भएकाले दुबै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको उनले बताए ।

बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको पोखरेलको भनाइ छ । यो महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिङ्गो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएकोले सबैलाई सहयोगी भूमिका खेल्न उनले आग्रह गरे । ‘सक्षम युवा सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिने पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा

सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १६ वटा उपसमिति गठन गरेर काम गरिएको प्रचारप्रसार संयोजक राजीव गौतमले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend