• Saturday 25th July 2026

युवाहरुमा देखिएका निरासा अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

युवाहरुमा देखिएका निरासा अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

जेसीजमा ४ जना अध्यक्षका लागि दावेदार


  • लुम्बिनी रिभ्यू

बुटवल । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवा समूहमा अहिले देखिएको निरासा हटाई युवामैत्री नीति, कानुन र योजना निर्माण गरेर कार्यान्वयनमा लैजानुुपर्ने बताएका छन् । युवाको पक्षमा कानुन बनाएर कार्यान्वयन गर्न नेपालको संसद प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख घिमिरेले अहिले युवाहरुमा देखिएका निरासा अन्त्य गर्नुपर्ने बताए ।

शुक्रबारदेखि बुटवलमा सुरु भएको नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समयमा युवाहरुको राजनीतिप्रति आर्कषण बढ्दै गएको भन्दै उनले राजनीतिमा लाग्नको लागि जोड दिए । उनले उच्च शिक्षाको लागि, रोजगारको लागि युवा विदेशिने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्नको लागि सबैले पहल गर्नुपर्ने बताए । युवाहरुको अन्तरनिहीत प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न पाउने गरी व्यवस्था गर्नुपर्ने र युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियान थाल्न उनले आग्रह गरे ।

उनले सरकारी निकायबाट पनि युवापुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राखे । सभामुख घिमिरेले जेसीजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा उत्तम रहेको उल्लेख गर्दै जेसीजको मूल्य, मान्यता अझै बढी पारिपालन गरे युवा पिँढीलाई फाइदा हुने बताए । घिमिरेले जेसीजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गर्दै १८ वर्षदेखि ४० वर्ष उमेर हद लागू गरिनु आफैमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० वर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसीजबाट पाठ सिक्नुपर्ने बताए ।

‘राजनीतिमा जस्तो ६० काटेपछि पनि युवा नेता भन्ने यहाँ हुदैन, जुन हाम्रो पक्ष हो ।’ उनको भनाइ छ । नेपाल जेसीजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसीजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताए । उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले युवा वर्गले देश छाड्ने नभई राजनीतिमा आउन आग्रह गरे ।

‘सक्षम युवा सुदृढ देश सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, प्रदेश सांसदहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला, जेसिज बुटवल शाखा अध्यक्ष हरिबिक्रम कुवर, गोपाल अधिकारी, कल्पना कुसुमलगायतले जेसीज अभियानले चाल्नुपर्ने योजनाका बारेमा धारणा राखेका थिए ।

सो अवसरमा बुटवल स्मारिका, नेपाल जेसीज डिजिटल स्मारिका, १० जना उत्कृष्ट युवालाई नगदसहित सम्मान गरिएको प्रचार संयोजक राजीव गौतमले जानकारी दिए । महाधिवेशनमा नेपाल जेसीजका १ सय ७८ शाखाबाट १ हजार २ सय ४६ प्रतिनिधि सहभागी रहेका छन् । महाधिवेशनमा ४ जना केन्द्रीय अध्यक्षका लागि दावेदार रहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend