• Saturday 25th July 2026

ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।

नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताए ।

सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको समेत उनले जिकिर गरे ।

सचिव भट्टराईले भने, ‘मानव जातीले आफ्नो ज्ञानको क्रममा ८ सय वर्ष अगाडि हिमालय पर्वतमालाबाट शुरु यो ध्यान शिविर, जसलाई हामीले हिमालय ध्यान शिविर भनेका छौं । यो एउटा मानव जातिका लागि अद्वितीय उपहार हो । यो ध्यान शिविरमा प्रख्यात हुनुहुन्छ शिव कृपानन्द स्वामी । उहाँले समेत हिमालय क्षेत्रमा आफूले ध्यान गरेर थुप्रै अनुभवहरु प्राप्त गर्नुभएको छ । र नेपालको रसुवा जिल्लाको शिवु गाउँमा एउटा गुफाबाट शुरु भएको यो ध्यान शिविरले आज विश्वका ७० भन्दा बढी मुलुकहरुमा प्रभाव छोडेको छ । र नेपाल पनि त्यसको एउटा भाग बनेको छ ।’

उनले त्यस्ता खालको ध्यान शिविरहरुका लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामूहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताए ।

‘अहिले भारतको नागपुरमा जुन यो ध्यान शिविर चलिराखेको छ । यो विशेष गरेर हिमालय ध्यान शिविर नै हो । र हिमालय क्षेत्रबाट नै यसको प्रार्दुभाव भएको हुनाले नेपाल एउटा एक किसिमले भन्ने हो भने पेटेन्ड राईट भएको मुलुक पनि हो’ भट्टराईले भने, ‘त्यसो हुँदा नेपालमा पनि नीति निर्माण गर्ने सांसदहरु, देशलाई नेतृत्व गर्ने मन्त्रीहरु, प्रधानमन्त्रीहरुदेखि लगायत सबैले यो ध्यान शिविरमा बस्न आवश्यक छ । र नेपालमा पनि यस्तो ध्यान शिविर सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ ।’

गत पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ । ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend