बुटवल , बुटवल उपमहानगरपालिकाले जलश्रोत उपयोग र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला संचालन ) विधेयक पारित गरेको छ ।
बुटवलमा छाडा पशुचौपायाले समस्या निम्ताउदै गएपनि उपमहानगरको छुट्टै नीति नहुदा व्यवस्थापन र नियन्त्रणमा समस्या भएको थियो । शिवनगरको शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला संचालन गर्ने भनिएपनि वनसंगको विवादले काम अगाडि बढेको थिएन । उपमहानगरले ऐन बनाएपछि छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण तथा गौशाला संचालनमा सहज हुने उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए । यसअघि बुटवलमा जलश्रोत उपयोग नीत थिएन । नगरभित्र आवश्यक ठाउलाई त्यसलाई यस्तै वनसित कुरा बाझीदा जमिनमूनिको पानी उपयोगमा पनि समस्या भएको थियो ।
उपमहानगरको शुक्रबार सकिएको चौधौं नगर सभाले २ वटा ऐन संसोधन गरेको छ। जसमा नगर शिक्षा ऐन २०७४ र नगर स्वास्थ्य ऐन २०७५ संसोधन गरेको हो । यस्तै,आवश्यकताअनुसार संगठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको उनले बताए। जसअनुसार शहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले शहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाईन महाशाखा बनाएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित भएको छ।
बुटवलका २ वटा वडाहरु ११ र १३मा जनसंख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्ने गरी पेश भएको प्रस्ताव बैठकले पारित गरेको छ।
सभाले अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्नका लागि सबैतहबाट काम अगाडि बढाउन निर्देशन दिएको छ।
बैठकले आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता तय गर्दै समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल शहरको परिकल्पनालाई आत्मसात् गर्ने र सोहीअनुसार नीति कार्यक्रम तय गर्ने प्रस्ताव पारित गरेको उप्रमुख सावित्रीदेवी अर्याले बताइन् ।

लुम्बिनी रिभ्यू