• Saturday 25th July 2026

शान्ति प्रक्रिया र प्रदेशमा प्रहरी समायोजनको काम छिटै सक्छौं ः कानुन मन्त्री धनराज गुरुङ

शान्ति प्रक्रिया र प्रदेशमा प्रहरी समायोजनको काम छिटै सक्छौं ः कानुन मन्त्री धनराज गुरुङ

संघीय सरकारले माघ २२ देखि संसद अधिवेशन बोलाएको छ


  • लुम्बिनी रिभ्यू

बुटवल – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुड.ले लामो समयदेखि अल्झिएको शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र प्रदेशमा प्रहरी समायोजन गर्ने काम छिटै सक्ने तयारी गरेको बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुड.ले संघीयताको मर्मअनुसार आउदो संसद अधिवेशनले संघीय प्रहरी विधेयक पारित गर्ने र प्रदेशमा प्रहरी समायोजन प्रक्रिया थाल्ने बताए । ‘विधेयक पारित भएलगत्तै प्रक्रिया थालिने छ । छिटै प्रदेश मातहत प्रहरी जानेछ,’ उनले भने, ‘हामी संघीयताको र्मअनुसार संरचना बनाउन तयार छौं ।’
मन्त्री गुरुङले सकभर सहमतीमा नत्र बहुमतीय पद्धतीबाट भएपनि संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित गर्ने बताए । उनले विधेयकमा विपक्षी दलले दोहोरो भिडन्त बाहेकका घटनालाई न्यायिक प्रक्रियामा लैजाने बताएको र सत्तापक्षले पूर्वाग्रहपूर्ण मृत्यु वा घटनालाई न्यायिक प्रक्रियामा लैजाने भनेको बताउदै दलीय सहमती नहुनुपर्ने खासै कारण नरहेको दाबी गरे । ‘ यो वा त्यो कुरा गरेर १८ वर्षपुग्दासम्म पनि शान्ति प्रक्रिया टुंगोमा नपुर्याउनु लाजमर्दो कुरा हो । मैले सबै दलका शीर्षस्थ नेताहरुलाई भनेको छु । यो टुंगोमा पुर्याउनु सबैको दायित्व हो,’ उनले भने ।

मन्त्री गुरुड.ले अन्तराष्ट्रिय अभ्यासहरुमा पनि नियतवश वा पूर्वाग्रहपूर्ण घटनालाई मात्र न्यायिक प्रक्रियामा लगेकाले सरकार त्यसलाई अगाडि बढाउन सहमत भएको बताए । उनले सरकारले यसअघि अध्यादेशबाट भएपनि संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको भएपनि अन्तराष्ट्रिय रुपमा आलोचित नबन्न सदनबाटै पारितको तयारी गरेको बताए ।
मन्त्री गुरुड.ले लामोसमयदेखि रहेको नीजामती विधेयक पारितका लागि पनि सरकारी तयारी रहेको बताए । उनले भने, ‘यो पालिको संसद अधिवेशन संघीयतालाई बलियो बनाउने र संस्थागत गर्ने विधेयकहरु र ऐनकानुन निर्माणमा केन्द्रीत गर्ने छौं ।’
संघीय सरकारले माघ २२ देखि संसद अधिवेशन बोलाएको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend