• Saturday 25th July 2026

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतका लागि अन्तिम मनोनयन पेस

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतका लागि अन्तिम मनोनयन पेस

सिद्धार्थ गौतमले २९ वर्ष विताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनितिक दस्तावेजमा सामेल गरिसके


  • लुम्बिनी रिभ्यू

लुम्बिनी- प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ।

फ्रान्सका लागि नेपाली राजदूत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारीक रुपमा मनोनयन दस्तावेज पेस गरेका हुन्।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिहीबार विज्ञप्ती जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेस हुनु निकै खुसीको कुरा भएको बताए।

‘संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होइन सम्पदाप्रेमि सबैका लागि खुसीको कुरा हो ’ विज्ञप्तीमा भनिएको छ।

तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएकाले सबैको सकरात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले विज्ञप्तीमार्फत भनेका छन्।

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत समेत गठन गरिएको थियो। उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ।

सरकारले २०७८/०७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो। विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो।

अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारीक रुपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषले जनाएको छ।

सिद्धार्थ गौतमले २९ वर्ष विताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनितिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ। यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

साभार, हिमाल प्रेस

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend