तिलोत्तमा, तिलोत्तमाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच ल्याउन रुपन्देहीको तिलोत्तमा वडा नम्बर, ५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो । यसबाट वडाका ९ जना स्वास्थ्य स्वयंसेविकाले साइकल पाएका छन् । करिब दुई लाखको लागतमा साइकल किनिएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख रामकृष्ण खाण, वडा अध्यक्ष रमेश डुम्रे लगायतले साइकल वितरण गर्नुभयो । नगर प्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो ।‘ कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दैआएका छन् ।

लुम्बिनी रिभ्यू