• Saturday 25th July 2026

फरक लैंगिक पहिचान भएकै कारण अधिकारबाट वन्चीत गर्न नहुने धारणा

फरक लैंगिक पहिचान भएकै कारण अधिकारबाट वन्चीत गर्न नहुने धारणा

लुम्बिनी प्रदेशको निजामती ऐनमा जातिगत तथा लैंगिक अल्पसंख्यकका लागि १ प्रतिशत आरक्षण छुट्याएको बताउदै गृहमन्त्रीले यसले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सरकारी सेवामा प्रवेश गर्ने ढोका खुलेको बताए ।


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले फरक लैंगिक पहिचान भएकै कारण त्यस्ता नागरिकलाई फरक व्यवहार गर्ने र अधिकारबाट वन्चीत गर्न नहुने बताएका छन् ।
संविधानले फरक लैंगिक पहिचानलाई मान्यता दिएकाले त्यसकै आधारमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई नागरिक अधिकार दिने काममा आफू प्रतिवद्ध रहेको उनले बताए ।
साहसी कदम रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको यांैनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री पाण्डेले संविधानलाई टेकेर यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान अनुसार नागरिकता, विवाह, अंश, वंशको अधिकार संरक्षण गर्न तीन तहकै सरकार लाग्नुपर्ने बताए । उनले गृहमन्त्रीको हैसियतमा नागरिकता, व्यत्तिगत घटना दर्ता, शिक्षा, स्वास्थ्य र रोजगारीमा परेका समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए । लुम्बिनी प्रदेशको निजामती ऐनमा जातिगत तथा लैंगिक अल्पसंख्यकका लागि १ प्रतिशत आरक्षण छुट्याएको बताउदै गृहमन्त्रीले यसले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सरकारी सेवामा प्रवेश गर्ने ढोका खुलेको बताए ।


कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि  पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले पछाडि परेका वर्ग र समूदायलाई अगाडि ल्याउनु राज्यको कर्तव्य भएको बताउदै प्रदेशका बजेट र योजनामा समेट्ने बताए । विशिष्ठ अतिथि अर्का पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले यौनिक अल्पसंख्यक सीमान्तकृत समुदायमा पर्ने भएकाले त्यसक्षेत्रको हीतमा यस समूदायलाई पनि समेट्ने प्रतिवद्धता जनाए ।

प्रदेश सभा सदस्य जानकी न्यौपानेले तेस्रो लिंगी र अन्तरलिंगी पनि आमाकै कोखबाट जन्मने भएकाले उनीहरुबीच विभेद नहुने नीत बनाउने जनाइन् ।अर्का प्रदेश सभा सदस्य भगवती घिमिरेले आफ्नो पहिचान जोगाउदै रोजगारी र आत्मनिर्भर हुने काममा जोडिन माग गरिन् । प्रदेश सभा सदस्य इन्द्रा गहतराजले यौनिक तथा लैंगिक अल्पसंख्यकबारेको भ्रम चिर्न समुदायमा सचेतना आवश्यक भएको बताइन् । प्रदेश सभा सदस्य मीना श्रेष्ठले फरक पहिचानकै कारण विभेद भए त्यस्तो विभेद विरुद्ध लड्न सघाउने बताइन् । प्रदेश सभा सदस्य शान्ति लोध र यमबहादुर नेपालीले प्रदेश सरकारका नीती , योजना बजेट र कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेट्ने प्रतिवद्धता जनाए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend