बुटवल,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य जानकीप्रसाद यादवसहित कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी र ठेकेदारसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्युफिट काठको २९ लाख १२ हजार रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले पाँच वर्षअघि गौतम बुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्युफिट काठ काटेर निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग लगाएको छ । ८०३ वटा रुख काट्दा त्यसबाट निस्किएको ३५ हजार सात सय ७८ दशमलव १० क्युफिट काठ र ४९ दशमलव २३ क्विन्टल चट्टा दाउरा संकलन गर्नुपर्नेमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।
अख्तियारले ६ वटा प्लटमध्ये चार वटाबाट ९ लाख ३९ हजार रुपैयाँ बराबरको वन पैदावार र दुईवटा कटान प्लटबाट १९ लाख ७३ हजार रुपैयाँ बराबरको वन पैदावार हिनामिना र हानि(नोक्सानी गरेको उल्लेख गरेको छ ।
अख्तियारले प्रदेश सभा सदस्य यादवसहित आयोगले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, समितिको कार्यान्वयन एकाइका तत्कालीन संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले लगायतसँग २९ लाख रुपैयाँ बिगो र कैद सजायको माग दाबी गरेको छ ।

लुम्बिनी रिभ्यू