काठमाडौ ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि लुम्बिनी प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई गुटबन्दी बन्द गर्ने, आर्थिक, सांस्कृतिक विचलन गर्नेलाई तत्काल कारबाही गर्नेसहितका सुझाव दिएका छन् ।
लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय सदस्यहरूले जनसरोकारका विषयमा सदन र सडकमा बलियो रुपमा प्रस्तुत हुन सुझाव दिएका थिए ।
बुधबार प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका ४५ जनाको समूहमा छलफल गरेर बिहीबार प्रस्तुती गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

यसअघि एमाले नेतृत्वको सरकारले अगाडि सारेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पार्ने र सबै क्षेत्रमा अस्तव्यस्त पारेर वर्तमान सरकारले अन्यौल बनाएको भन्दै त्यसमा पार्टीले गम्भीर ढंगले विषय उठान गर्न उनीहरुले सुझाव दिएका छन् ।
पार्टी शुद्धिकरण र सुदृणिकरण अभियान, जनआधारित कार्यकर्ता पार्टी निर्माणको प्रस्ताव,संगठनात्मक कामको समीक्षा र जनसरोकारका विषयमा संघर्षको तयारी र मुद्दाहरुलगायतका विषयमा विभिन्न सुझाव दिइएको बैठकमा सहभागी पाेलिटब्यूराे सदस्य तथा प्यूठानबाट प्रतिनिधि सभा सदस्य सूर्य थापाले जानकारी दिए ।
बैठकमा जनवर्गीय सङ्गठनहरूलाई अझै सक्रिय बनाउनुपर्ने, जनजीविका र जनचासोको विषयवस्तुमा सडक र सदनमा सशक्त रुपमा उठाउन सुझाव दिइएको छ ।

लुम्बिनी रिभ्यू