ललितपुर । नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ ।
बैठकपछि ११ वटा निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका समस्यालाई समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने जनाएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वर्तमान गठबन्धन चार वर्ष नै कायम रहने उल्लेख रहेको र सो प्रस्ताव महासमिति बैठकबाट पारित भएको दावी गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो ।
पार्टीका प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जारी गर्नुभएको विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्याउने जनाइएकाे छ ।
बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यवाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी तीनवटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन वैठकले अनुमोदन गरेको छ ।

लुम्बिनी रिभ्यू