• Saturday 25th July 2026

बुटवलको पशु बधशाला सञ्चालनबारे छलफल

बुटवलको पशु बधशाला सञ्चालनबारे छलफल


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनबारे सरोकारवालासंग छलफल गरेको छ ।
सोमबार मासुसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेको हो । नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार र स्वास्थ्यलाई ध्यानमा राखेर बधशाला सञ्चालन हुन लागेकाले सबै नगरबासीले बधशालामा बध गरेको मासु उपभोग गर्न आग्रह गरे।
उनले कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयले बताए।
उनले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मदत पुर्‍याउने बताउँदै बधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने बताए।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका कतिपय पशु बधस्थल र मासु पसलहरु अत्यन्तै दुर्गन्धित रहेको बताउँदै बधशाला सञ्चालनपछि उपभोक्ताले हानिकारक मासु उपभोग गर्न नपर्ने बताइन्। उनले बधशाला सञ्चालनका बारेमा कतिपय पक्षबाट असन्तुष्टि आएपनि बधशाला सञ्चालन हुने र कानुनबमोजिम अन्य क्षेत्रलाई नियमन गर्ने बताइन्।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारका पशु बधशाला, मासु सम्बन्धि कानुनबमोजिम बधशाला सञ्चालनको तयारीमा रहेको बताए। उनले कानुनबमोजिम बधशाला सञ्चालन हुने हुँदा सबै मासु व्यवसायीले नियमअनुसार बधशालामा लगेर बध गरी प्रशोधन गरेको मासु मात्रै बिक्री गर्नुपर्ने बताए।
बधशाला सञ्चालनमा आएपछि बुटवलबासीले अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोग गर्न पाउने उनले बताए।
मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका उमेश आचार्यले बधशाला सञ्चालनका लागि आवश्यक उपकरण जडान भइरहेको र पूरा हुनेवित्तिकै सञ्चालन गर्ने बताए। उनले बुटवल क्षेत्रका सबै मासु व्यवसायी र खशीबोका पाल्ने किसानहरुलाई साथमा लिएर बधशाला सञ्चालन गर्ने बताए।

मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ।
५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले बताए।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको खनालले बताए।
बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend