• Saturday 25th July 2026

यस्ताे बन्याे नयाँ मन्त्री मण्डल

यस्ताे बन्याे नयाँ मन्त्री मण्डल


  • लुम्बिनी रिभ्यू

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले यसअघि शपथ लिइसक्नुभएको छ।

यसैगरी, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिइसक्नुभएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि शपथ लिइसक्नुभएको छ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend