नम्रता अर्याल
भैरहवा, विपदमा महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राख्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
विपदको क्षति घटाउन विपद पूर्वकार्यदेखि व्यवस्थापन मात्र होइन सामाजिक संरचना, उद्धार र राहतका कार्यक्रमलाई पनि लैंगिक मैत्री बनाउन आग्रह गरे । राष्ट्रिय विपद जोखीम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश गृह मन्त्रालयले बुधबारदेखि रुपन्देहीमा सुरु गरेको विपद जोखीम न्युनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण प्रदेश स्तरीय तालिममा सहभागीले यस्तो बताएका हुन् ।
गृह मन्त्री सन्तोषकुमार पाण्डेयले नीती राम्रा बनेर मात्र परिवर्तन नहुने त्यसका लागि कार्यान्वयनको पाटो सुधार गर्नुपर्ने बताए । उनले सिमान्तकृत समुदायका महिला बालबालिका लक्षित विपद व्यवस्थापन कार्यक्रम ल्याउन र विपदमा छिटो उद्धार गर्न मातहत कार्यालय सबैलाई निर्देशन दिएको पनि बताए ।
राष्ट्रिय विपद जोखीम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक अनिल पोखरेलले विपदमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरणलाई ध्यान नदिदा रोकथाम र व्यवस्थापनमा जति लगानी गरेपनि त्यसअनुसार प्रतिफल नआएको बताए । उनले बाढी, पहिरो, आगलागी सर्पदंश लगायत सबैजसो प्रकोपमा ती वर्ग प्रभावीत भएको बताए ।
सामाजिक विकास मन्त्रालयकी उपसचिव शारदा वश्यालले विपदमा महिला तथा बालबालिका हिंसामा पर्ने, बेचबीखन ओसारपसार लगायतबाट पनि प्रभावित हुने बताइन । यसलाई रोक्न लुम्बिनी प्रदेशले महिला बालबालिकाका क्षेत्रमा अपनाएका क्षेत्रगत सुरक्षा र संरक्षणका कार्यक्रमलाई निरन्तरताको चुनौति रहेको बताइन् ।

तथ्यांक अनुसार विपदमा बालबालिका, गर्भवती वा सुत्केरी महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसंख्यक, विपन्न र भौगोलिक विकटका व्यक्ति बढी पर्ने गरेका छन्् । विपद जोखीम न्युनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरणको मर्म नबुझ्दा उनीहरुमा क्षती समेत बढी हुने गरेको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वमा प्राकृतिक विपदबाट ज्यान गुमाउने ८९ प्रतिशत महिला छन् । जलवायूजन्य विपदबाट विस्थापित हुनेमा पनि ८० प्रतिशत महिला छन् । विपदमा बढी पर्ने महिला, बालबालिका, अपांगता भएका र यौनिक अल्पसंख्यक समूदायलाई क्षती घटाउन चेतना प्रवाह, पूर्व तयारी र व्यवस्थापनका काम गर्न पनि सरोकारवालाले आग्रह गरेका छन् । लुम्बिनी प्रदेश बाढी, पहिरो र आगलागी जस्ता विपद धेरै हुने प्रदेश हो । रेडक्रस, युनिसेफ, युएनडिपीविभिन्न संयुक्त राष्ट्रसंघीय साझेदारले समन्वय गरेको तालिम ३ दिन चल्ने राष्ट्रिय विपद जोखीम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका फोकलपर्सन रन्जना श्रेष्ठले बताइन् ।

लुम्बिनी रिभ्यू