• Saturday 25th July 2026

युवाको आवश्यकता रोजगारमूलक र प्रविधिमूलक शिक्षाको व्यवस्था

युवाको आवश्यकता रोजगारमूलक र प्रविधिमूलक शिक्षाको व्यवस्था

स्थानीयदेखि प्रदेश र संघीय सरकारले कमाउदै पढ्दै गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्ने खालका युवा लक्षित कार्यक्रम संचालन गर्न माग


  • लुम्बिनी रिभ्यू

बुटवल, युवाको आवश्यकता रोजगारमूलक र प्रविधिमूलक शिक्षाको व्यवस्था रहेको रुपन्देहीका युवाहरुले बताए । सैद्धान्तिक शिक्षाले सीप र रोजगारीमा जोड्न र युवालाई स्वदेशमै काम गरेर खाने वातावरण बनाउन नसकेको बताउदै उनीहरुले यस्तो बताए ।
शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश सरकारको बजेटमा शिक्षा र युवाको सहभागिता विषयक अन्तरसंवाद तथा सुझाब संकलन कार्यक्रममा सहभागी युवाहरुले सरकारले स्वरोजगारमूलक शिक्षाको व्यवस्था गरेर स्वदेशमै बस्ने वातावरण मिलाउन युवाहरुले माग गरे। युवालाई नव प्रवर्द्धनात्मक वस्तु र सेवा उत्पादन गर्ने तालिम र वित्तीय पहुँचको विस्तार गर्ने शिक्षा दिन उनीहरुले आग्रह गरे ।
कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी नेता शिवबहादुर खवासले उच्च शिक्षालाई व्यवसायीक, प्राविधिक शिक्षासहित रोजगारी दिने शिक्षा लागू गर्न आग्रह गरे । स्नातक तह एवं आंगीक क्याम्पसमा सबै संकायमा पढ्ने विपन्न विद्यार्थीहरुलाई पनि छात्रावृत्तिको व्यवस्था गर्न उनले माग गरे ।
लुम्बिनी वाणिज्य क्याम्पसका नेता रेशम क्षेत्रीले उद्यम र प्रविधिमा युवालाई जोड्ने कार्यक्रम ल्याउन माग गरे । प्रत्येक विद्यालयमा खेलकुदको व्यवस्था गरी खेलमा युवालाई जोड्न पनि आग्रह गरे । नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले युवालाई उत्पादन र उद्यमशीलतामा जोड्न आग्रह गरे । उनले कृषि, परम्परागत शिप र कलालाई पनि आधुनिकीकरण गर्दै व्यवसायिकतामा ढाल्दै युवालाई प्रोत्साहन गर्न आग्रह गरे ।


सामाजिक विकास मन्त्रालय र संचारिका समूह लुम्बिनीले अन्तरसंवाद तथा सुझाब संकलन गरेका थिए । कार्यक्रममा अमृता अनमोलले सहजीकरण गरेकी थिइन् । संचारिका समूहका सचिव माया केसी, कोषाध्यक्ष उषा किरण पन्थ एवं संचारिका तथा युवा परिषदका सदस्य रिया वस्नेतले युवाहरुलाई सिर्जनशील काम गर्न प्रोत्साहन गरेका थिए ।

युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्ष समूहका व्यक्ति युवा हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत छ । जनगणनाअनुसार देशमा १९दशमलव८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । कार्यक्रममा बोल्दै युवाहरुले जम्मा हुने, योजना निर्माण गर्ने, अनुभव साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्याङ्कन गर्ने स्थान र वातावरणको खाँचो रहेको बताए । यसकालागि स्थानीयदेखि प्रदेश र संघीय सरकारले कमाउदै पढ्दै गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्ने खालका युवा लक्षित कार्यक्रम संचालन गर्न युवाहरुले माग गरेका थिए।

 

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend