बुटवल, लुम्बिनी प्रदेशमा हरेक वर्ष बेरुजू बढेको बढ्यै छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९, ८० को लेखा प्रतिवेदनमा लुम्बिनी प्रदेश सरकारको १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैया बेरुजु रहेको देखाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा चालु ३१.४८ प्रतिशतले धेरै बेरुजु हो । जसमा असुल गर्नुपर्ने बेरुजु १७ करोड ९४ लाख रुपैया रहेको छ । प्रतिशतका हिसाबले कुल बेरुजुमध्ये १५.९३ प्रतिशत नियमित गर्नुपर्ने बेरुजु हो ।
महालेखाले प्रदेश सरकार र मातहतका २ सय ८९ निकायको ५७ अर्ब ९१ करोड ५९ लाखको लेखापरीक्षण गरेको थियो । अहिलेसम्म लुम्बिनी प्रदेशको बेरुजु ४ अर्ब २ करोड ९ लाख ६९ हजार रुपैया पुगेको छ ।
महालेखाले प्रदेश प्रमुख अमिक शेचरनलाई मंगलबार प्रतिवेदन बुझाएको हो । लुम्बिनी प्रदेश प्रमुख शेरचनले प्रतिबेदन बुझ्दै समयमा काम नगर्ने र काममा बेवास्था गर्ने परीपाटीले बेरुजु रकम घट्नु पर्नेमा प्रत्येक वर्ष बढ्दै गएको बताउनुभयो ।
महालेखा परीक्षक कार्यालयका नायव उपमहानिर्देशक घनश्याम पराजुलीले भएका कानुन कार्यविधि पालन नगर्ने र संवेदनशील भएर काम नगर्ने कारणले बेरुजु रकम बढीरहेको बताउनुभयो ।

लुम्बिनी रिभ्यू