तस्बिर : दीपक ज्ञवाली
बुटवल । नेकपा एमाले रुपन्देहीको १० औं अधिवेशनबाट सबै पद सर्वसम्मत चयन भएको छ । अधिवेशनबाट अध्यक्षमा यज्ञ गैरेसहित सबै पदमा सर्सम्मत भएको अध्यक्ष मण्डलका संयोजक दलबहादुर रानाले बताए । यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष तेजेन्द्र केसीले बिहीबार राति फिर्ता लिएपनि अर्का खेम लुईटेलले शुक्रबार दिउसो साढे २ बजे मात्रै फिर्ता लिएसँगै गैरे निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव खुल्लामा बाबुराम पन्थी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए भने महिला उपसचिवमा ३ जना प्रतिस्पर्धीले मैदान खालि गरिदिएपछि सुनिता ठठेटेर सर्वसम्मत भएकी छन् ।
पदाधिकारीसहित १५१ सदस्य निर्विरोध भएको रानाले बताए ।
शुक्रबार घोषणा सभामा पार्टी केन्द्रीय सचिव छविलाल विश्वकर्माले रुपन्देहीबाट नेतृत्व सर्वसम्मत छनौटले सबैतिर सकारात्मक सन्देश दिएको बताए । कार्यक्रममा प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई लगायतले शुभकामना दिएका थिए । नवनिर्वाचित कमिटीलाई जेठ ३२ गते बुटवलमा सपथग्रहण गराइने कार्यक्रा रहेको निर्वाचन मण्डलका संयोजक तथा रुपन्देही इन्चार्ज दलबहादुर रानाले बताए ।
सम्मेलनले २१ बुँेदे समसामयिक प्रस्ताव पास गरेको छ । समसायिक प्रस्ताव मस्यौदा कमिटीका संयोजक डी.आर.घिमिरे सदस्यहरु मोहन चापागाई, दीपक ज्ञवाली, अमृत गिरीले तयार गरेको पेश गरेको प्रस्ताव सर्वसम्मतले पास गरेको हो ।
को हुन् रुपन्देही एमालेको नयाँ अध्यक्ष यज्ञ गैरे ?
विक्रम सम्वत २०३० सालमा गुल्मीको तत्कालीन रुपाकोट हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा छबिलाल गैरे र जमुना गैरेको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झरेका हुन् । विक्रम सम्वत २०४३ सालमा अनेरास्ववियु एकता पाँचौको सदस्यता लिएका उनले अनेरास्वयिुको केन्द्रीय सदस्य भइ २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति भइ स्ववियु काउन्सिलको केन्द्रीय कोषाध्यक्ष भएका थिए ।
२०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिएका गैरे पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हुँदै नवौं अधिवेशनमा रुपन्देही जिल्ला सचिव बनेका थिए । उनलाई अध्यक्ष बनाउन तेजेन्द्र केसी र खेम लुईटेलले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए ।
नवनिर्वाचित अध्यक्ष गैरे यसअघि छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीको अध्यक्ष, सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको सभापति, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको केन्द्रीय उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षको समेत नेतृत्व सम्हालिसकेका छन् ।
किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहेका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा स्थायी बसोबास गर्दै आएका गैरेले १४७ सदस्सीय नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नेछन् ।
अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडि बढाउने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउने, पार्टीको जिल्ला कार्यालय निर्माण गर्ने, बताए ।


लुम्बिनी रिभ्यू