• Saturday 25th July 2026

अपांगता भएका पुरुष भन्दा महिला र बालिकाको सुरक्षा जटिल

अपांगता भएका पुरुष भन्दा महिला र बालिकाको सुरक्षा जटिल

रोजगार, प्रजनन तथा पारिवारिक र सामाजिक सुरक्षा चिन्ता


  • लुम्बिनी रिभ्यू

बुटवल, लैंगिक रुपमा अपांगता भएका पुरुष भन्दा महिला र बालिकाको सुरक्षा जटिल हुने भएकाले थप संवेदनशील हुन भुक्तभोगीहरुले आग्रह गरेका छन् ।
एक्सेस प्लानेटले सोमबार रुपन्देहीमा आयोजना गरेको अपांगता भएका महिला तथा बालबालिकाहरुका सवाल विषय कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । उनीहरुले अपांगता भएका बालिकाको शिक्षा र सुरक्षामा समस्या रहेको बताउदै घरपरिवारदेखि समाज र राज्यले फरक सुबिधा मिलाइदिनुपर्ने बताए । उनीहरुले अपांगता भएका महिला र बालिकाको रोजगार, प्रजनन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी चिन्ता रहेको पनि बताए ।
एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले राज्यका संरचना र व्यवहार अपांगता मैत्री नहुदा अपाङ्गता भएका व्यक्तिहरुले हरेक क्षेत्रमा असुरक्षा र जटिलता भोग्नुपरेको बताइन् । उनले अपांगता भएका ब्यक्तिमाथि सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउँदै अपांगताको परिभाषा र तथ्यांकका विषयमा समाजलाई सचेत पार्नुपर्ने जनाइन् । नेपालमा अपांगता भएका व्यक्तिका लागि पाइलैपिच्छे अवरोध भएको बताउदै राज्यको सेवा प्रवाह र सुविधा परिवर्तन गरी अवरोध हटाउन आग्रह गरिन् ।
नेपालमा अपांगतालाई १० प्रकारमा बिभाजन गरेको छ । तर, राज्यबाट पाउनुपर्ने कतिपय सेवा सुविधा र अधिकारबाट बञ्चित हुनुपरेको, बौद्धिक अपांगता ,अपांगता भएका महिला वालवालिकाहरुको सवालमा सञ्चारमाध्यमले अझैबढी आवाज उठाउन आवश्यक रहेको अपांगता भएका व्यक्तिहरुको भनाइ थियो । उनीहरुले सञ्चार माध्यमले अपांगता सम्बन्धी मर्यादित शब्दहरुको प्रयोग गर्नुपर्ने, दयामुखी अवधारणा भन्दा अधिकारका बिषयमा बृहत जानकारी दिने काममा साथ दिन आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागीले प्रदेशमा अपांगता समस्या र व्यक्तिबा बारेमा तथ्यांक संकलन गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।अपाङ्गता भएका पुरुषभन्दा महिलामा शिक्षा, रोजगार, प्रजजन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी समस्या रहेकोले यसमा ध्यान सहभागीले सुझाएका थिए ।
संचारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोलले अपांगता भएका महिलाको प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका बिषयमा ध्यान नगएकोले यो विषय ध्यान दिन सुझाव दिइन् ।
कार्यक्रममा एक्सेस प्लानेटका फाईनान्स अफिसर सन्जु श्रेष्ठले अपांगता भएका नागरिकको अधिकार प्रत्याभूतका लागि सबै क्षेत्रको सहयोगको साथ आवश्यक रहेको बताएकी थिइन् । अपांगता क्रस कटिड. इस्यु भएकाले त्यसमा सबै क्षेत्रका व्यक्ति र सस्थाले काम गर्न उनको आग्रह थियो ।
नेपालको जनगणना २०७८ का अनुसार २ दशमलब २ प्रतिशत जनसंख्यामा अपांगता रहेको जसमध्ये ४५ दशमलब ८ महिला र ५४ दशमलब २ प्रतिशत पुरुषको संख्या छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार विश्वमा १६ प्रतिशत गम्भिर अपांगता भएका व्यक्तिहरु छन् । नेपालमा करिब १० प्रतिशत व्यक्तिमा अपांगता रहेको आकलन गरिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend