• Saturday 25th July 2026

संघीय सांसद र लुम्बिनी प्रदेश सभा सदस्य महिला सदस्यबीच सिकाइ आदान प्रदान कार्यक्रम

संघीय सांसद र लुम्बिनी प्रदेश सभा सदस्य महिला सदस्यबीच सिकाइ आदान प्रदान कार्यक्रम

योजना प्रक्रिया सुरु हुँदादेखि नै पुरुष सांसदहरु औपचारिक अनौपचारिक बैठकमा बस्ने, छलफल गर्ने र आफू अनुकुलका योजना र बजेट बनाउदा विकास प्रक्रियाबाट महिला सांसद बाहिर बस्नुपरेको सांसदहरुको गुनासो


  • लुम्बिनी रिभ्यू

बुटवल, वार्षिक बजेट र योजना प्रक्रियामा संघीय सांसदहरु र लुम्बिनी प्रदेश सभा सदस्यका महिला सदस्यहरुबीच सिकाइ आदान प्रदान कार्यक्रम रुपन्देहीमा सुरु भएको छ । एक अर्काको अनु्भव र सिकाइलाई व्यवहारमा प्रयोग गर्न र त्यसलाई कार्यान्वयनमा ल्याउन दलित महिला महासंघ नेपालले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै महिला सांसदहरुले समान हैसियत भएपनि वार्षिक बजेट र योजना प्रक्रियामा महिलालाई सहभागी नगराउने गरेको बताए । उनीहरुले पितृसत्तात्मक सोच कायम रहनु र दल , सरकार एवं संसदीय समितिका प्रमुख पदमा महिला नहुनुले बजेट र योजना तर्जुमा प्रक्रियामा सहभागी नगराउने गरेको गुनासो गरे। योजना प्रक्रिया सुरु हुँदादेखि नै पुरुष सांसदहरु औपचारिक अनौपचारिक बैठकमा बस्ने, छलफल गर्ने र आफू अनुकुलका योजना र बजेट बनाउदा विकास प्रक्रियाबाट महिला सांसद बाहिर बस्नुपरेको सांसदहरुले बताए ।


महिला सांसदहरु धेरै समानुपातिक प्रणालीबाट जाने तर, सरकारले प्रत्यक्षलाई मात्र बजेट तर्जमा प्रक्रियामा सहभागी गराउदा पनि आफूहरु योजना छनोट र बजेट उपयोगमा छुटेको महिला सांसदहरुले दुखेसो गरे । कार्यक्रममा वार्षिक बजेट र योजना प्रक्रियाबारे संघीय सांसद इश्वरी घर्तीले व्यवहारिक रुपमा समान हैसियतका लागि सिकाइलाई निरन्तरता दिदै एकतावद्ध रुपमा मुद्धा उठाउन प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
संविधान सभा सदस्य डिना उपाध्यायले महिलालाई विचरा र अवलाका रुपमा हेर्ने दृष्टिकोण नफेरिएकाले सदन र सरकारमा पुगेपनि महिलाहरुलाई समानत हैसियत नदिने बताउनुभयो । उहाले योजना र बजेटमा सक्रिय बन्न र दिगो एवं लैंगिक मैत्री बजेट विनियोजनका लागि वर्षभरि नै तयारी र छलफललाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।
प्रदेश सभा सदस्य निमा गिरीले प्रदेश तहको बजेट तर्जुमाबारे सहजीकरण गर्दै योजना तर्जुमा प्रक्रियामा सांसदहरुको भूमिका नलेखिएको हुदा सरकारमा सहभागी हुने र दलिय प्रतिनिधित्व गर्ने पुरुषहरु मात्रै सहभागी हुने प्रचलन रहेको बताउनुभयो । त्यसलाई रोक्न महिला सांसद एक भएर सदन र सरकारमा हुने विभेद र असमानता विरुद्ध बोल्न आग्रह गर्नुभयो । महिला सांसदहरु स साना कार्यक्रम भन्दा नीतिगत प्रभाव पार्ने योजनामा केन्द्रीत हुन र लैंगिक बजेट निर्माण र कार्यान्वयनमा लाग्न उशाले आग्रह गर्नुभयो ।


छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले महिलाका सबालमा राजनीतिक दलहपूर्वाग्राही हुने भएकाले एकताको आवश्यकता रहेको बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिलाका नाममा नीति निर्माण र बजेट विनियोजन गरेपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । महिला परिषद गठनका लागि चालु आर्थिक वर्षमा वजेट विनियोजन गरेपनि अहिलेसम्म काम हुन नसकेको उहाले गुनासो गर्नुभयो । छलफलमा सहभागी हुदै धनलक्ष्मी श्रेष्ठले बजेट पूर्वको छलफल, नीति पूर्वको छलफलमा सहभागी हुन नियमित प्रदेश सभा र सरकारका क्रियाकलापलाई निगरानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन गर्दै दलित महिला महासंघका महासचिव सरस्वती नेपालीले सबै नीतिको मूल नीति राजनीति भएकाले सांसदहरुको भूमिका अझ बढाउनु पर्ने बताउनुभयो । द एसिया फाउन्डेसनको सहयोगमा संचालित प्रदेशका महिला सभा सदस्यहरुको प्रभावकारी नेतृत्वको लागि सहकार्य कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गरिएको हो । सिकाइ आदानप्रदान कार्यक्रम तीन दिनसम्म संचालन हुनेछ ।


यसअघि कार्यक्रम उद्घाटनमा बोल्दै दलित महिला महासंघका अध्यक्ष विमला विकले प्रदेश सभामा नेतृत्व गर्ने महिलाहरुको क्षमता बढाउदै बजेट र योजना प्रक्रियामा अगुवाइ गर्नसक्ने बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष जसमाया गजमेरले विभिन्न क्षेत्रको अनुभव बटुलेर प्रदेश सभामा पुगेका महिला सांसदहरुलाई नेतृत्व क्षमता बढाउदै दिगो विकास र सामाजिक रुपान्तरणका काममा लाग्न सहकार्य गर्ने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend