• Saturday 25th July 2026

बजेटमा पहुँच बढाउन जुट्दै लुम्बिनी र बाग्मतीका महिला सांसद

बजेटमा पहुँच बढाउन जुट्दै लुम्बिनी र बाग्मतीका महिला सांसद

बजेटलाई लैंगिक उत्तरदायी बनाउन पूर्वाधार, क्षमता विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी तथा सिंचाई, रोजगार तथा उद्यम, वन तथा वातावरण लगायतका विषयमा लैंगिक संवेदनशीलता अपनाएर बजेट विनियोजन गरौं ः संविधानसभा सदस्य डा. विन्दा पाण्डे


  • लुम्बिनी रिभ्यू

बुटवल,  प्रदेश सभा सदस्यहरुको प्रमुख काम हो ऐन तथा नीति बनाउने । त्यही काममा उनीहरुको सहभागिता कस्तो छ त ? भुक्तभोगीहरु भन्छन् महिला भएकै कारण प्रदेश सभा सदस्यहरुको भूमिका र सहभागिता योजना तर्जुमा र बजेट निर्माणमा कम छ । यसले गर्दा लैंगिक र सामाजिक समावेशीकरणका क्षेत्रमा चाहेजस्तो काम हुन सकेको छैन ।

यो अवस्था फेर्न महिला प्रदेश सभा सदस्यहरु एकजुट हुन थालेका छन् । सरकारका नीति कार्यक्रम र बजेट निर्माणमा पहुंच र निर्णायक भूमिका बनाउन लुम्बिनी र बाग्मती प्रदेशसभाका महिला सदस्यहरुले योजना तर्जुमा र बजेट विनियोजन प्रक्रियाबारे अनुभव र सिकाइ बाड्न थालेका छन् ।  योजना तर्जुमा र बजेट विनियोजन प्रक्रियामा महिला प्रदेश सभा सदस्यको भूमिका र सहभागिता बढाउन अनुभव र सिकाइ आदानप्रदान थालिएको हो ।  ।

दलित महिला महासंघ नेपालको आयोजनामा  योजना तर्जुमा र बजेट विनियोजन प्रक्रियामा बुधबार रुपन्देहीमा लुम्बिनी र बाग्मती प्रदेशसभा सदस्यहरुबीच सिकाइ आदानप्रदान कार्यक्रम गरिएको छ।  त्यसमा  लुम्बिनीका राम्रा अभ्यास बाग्मती र बाग्मतीका राम्रा अभ्यास लुम्बिनीले सिक्ने र सबल योजना कसरी बनाउने भन्नेबारेमा छलफल सहित कार्ययोजना बनाउने छन् ।

कार्यक्रममा वार्षिक बजेट र योजना प्रक्रियामा प्रदेश सभा सदस्यको सहभागिता र लैंगिक उत्तरदायी योजना र बजेट तर्जुमाबारे संविधान सभा सदस्य डा। विन्दा पाण्डेले सहजीकरण गर्नुभएको थियो । उहाले लैंगिक मैत्री बजेट तर्जुमाका ५ चरण रहेको बताउदै सबै चरणलाई संवेदनशीलता पूर्वक लिएर योजना तर्जुभ ागर्न आग्रह गर्नुभयो । बजेट बनाउदा महिलालागि कार्यक्रमसंगै नीति निर्माण तहमा रहेका पुरुषहरुलाई समेत लैंगिक संवेदनशीलता बुझाउने विषय समेट्न उहाले आग्रह गर्नुभयो । लैंगिक उत्तरदायी योजना र बजेट तर्जुमाका क्षेत्रहरु पूर्वाधार, क्षमता विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी तथा सिंचाई, रोजगार तथा उद्यम, वन तथा वातावरण लगायत हुन् । संविधान सभा सदस्य डा। पाण्डेले बजेटमा महिलाको सीप क्षमतासँगै कार्यबोझ घटाउने र आर्थिक हैसियत उकास्ने खालका योजना समेट्न आग्रह गर्नुभयो । बजेटले महिला र गरीवी , महिला शिक्षा र तालिम ,महिला र स्वास्थ्य,महिला विरुद्ध हिंसा, महिला र ससस्त्र विद्रोह , महिला र अर्थतन्त्र एवं महिला र नीतिनिर्माण लगायतका विषय बजेटमा समेट्न उहाले आग्रह गर्नुभयो ।

अनुभव आदान प्रदान कार्यक्रममा सहभागी लुम्बिनी र बाग्मती प्रदेश सभाका महिला सदस्यहरुले विकासमा पहुँच बढाउन अब एक भएर योजना तर्जुमा र बजेट विनियोजन प्रक्रियामा भाग लिने बताए । त्यसका लागि छुट्टाछुट्टै आगामी रणनीति तयार गरेका थिए । लुम्बिनी प्रदेशका तर्फबाट रणनीति प्रस्तुत गर्दै प्रदेश सभा सदस्य लोका विकले आगामी बजेट छलफल पूर्व नै आआफ्ना दलका नेतासँग छलफल र अन्तरक्रिया गरी लैंगिक समावेशी बजेट र समान सहभागिताका लागि ध्यान केन्द्रीत गर्ने  बताउनुभयो । यसपछि मुख्यमन्त्री, मन्त्री, योजना आयोग  तथा  विषयगत मन्त्रालयका सचिवहरु सहितको छलफल गरी दवाव सिर्जना गर्ने योजना सुनाउनुभयो । बजेटमा प्रत्यक्षसरह समानुपातिक प्रदेश सभा सदस्यहरुको हैसियत बनाउन दवाव दिने उहाले जानाकारी गराउनुभयो । प्रदेश संरचना, नीति निर्माण, योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रियामा  पुरुष सरह समान सहभागिता बनाउन संचारकर्मीसँग समन्वय र सहकार्यमा गर्ने  बताउनुभयो ।

बाग्मती प्रदेशका तर्फबाट प्रदेश सभा सदस्य उर्मिला सुनुवारले वर्तमान अवस्थाका बजेट, कार्यक्रम र त्यसमा महिला प्रदेश सभा सदस्यहरुको सहभागिताको अवस्था प्रस्तुत गर्नुभएको थियो । उहाले महिलाको सीप विकास, उद्यमशीलता विकास, आर्थिक उपार्जन, एक विद्यालय एक नर्स जस्ता महिला प्रदेश सभा सदस्यले छनोट गरेका फलदायी कार्यक्रम कार्यान्वयनमा रहेको उहाले बताउनुभयो । यद्यपि योजना तर्जुमा र बजेट निर्माण प्रक्रियामा महिलाहरुलाई  सहभागी नगराउने र बजेटमा कम प्राथमिकता दिने गरेको बताउनुभयो ।

बाग्मती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगरले महिला भएका कारण प्रत्यक्ष निर्वाचित भएपनि निर्णय प्रक्रियामा सहजै सहभागी नगराउने गरेको अनुभव सुनाउनुभयो । महिला भएकै कारण हरेक क्षेत्रमा प्रतिश्पर्धा गर्नुपर्ने अवस्था रहेको बताउदै उहाले तथ्यगत सुचनामा अपडेट हुँदै कतिपय स्थानमा जोखीम मोल्न समेत तयार हुनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्यहरुलाई नियमत ह्वीप लाग्ने भन्दै अनावश्यक डराउन दिने गरेको बताउदै के मा पाटीको ह्वीप लाग्छ र के मा लाग्दैन भन्नेमा पूर्व जानाकार हुनुपर्ने बताउनुभयो । योजना तथा बजेटमा पहुंच बढाउन सरकार र त्यसमातहतका संरचनासँग नियमीत सम्पर्कमा रहेर चनाखो हुनुपर्ने अनुभव आफूले बटुलेको उहाले सुनाउनुभयो ।

बाग्मती प्रदेश सभा सदस्य सुना परियारले नीति निर्माणदेखि योजना तर्जुमा प्रक्रियासम्ममा महिला प्रदेश सभा सदस्यको भूमिका बढाउन सबै दलका महिला छुट्टै समन्वय समिति आवश्यक रहेको बताउनुभयो । महिला त्यसमा पनि सिमान्तकृत समूदायका महिलाका सवालमा सरकार र सदन दुवैमा काम गर्न समस्या रहेको उहाले बताउनुभयो । बाग्मती प्रदेशमा ४ पटक मन्त्रीपरिषद विस्तार हुँदा पनि उल्लेख्य महिला मन्त्री बन्न नसकेको बताउदै सरकार र सदनमा प्रभावकारी भूमिकाका लागि दलित महिला महासंघले समन्वयकर्ताको भूमिका निभाइदिन आग्रह गर्नुभयो ।

दलित महिला महासंघ नेपालका कार्यवाहक अध्यक्ष जसमाया गजमेरले लुम्बिनीका राम्रा अभ्यास बाग्मती र बाग्मतीका राम्रा अभ्यास लुम्बिनीले सिक्ने र सबल योजना कसरी बनाउने भन्नेबारेमा छलफल सहित कार्ययोजना बनाउने बताउनुभयो ।

दलित महिला महासंघ नेपालका महासचिव सरस्वती नेपालीले समावेशी सिद्धान्तका आधारमा प्रदेश सभामा पुगेका महिलाहरुलाई लैंगिकता र समावेशी विकासमा संवेदनशील भएर नीति कार्यक्रम र बजेट निर्माणमा सहकार्य गर्न महासंघ लागिरहेको जनाउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend