• Saturday 25th July 2026

लैंगिक समानताले मात्रै मानवअधिकार सुनिश्चितता गर्न सकिन्छ ः सरोकारवालाहरु

लैंगिक समानताले मात्रै मानवअधिकार सुनिश्चितता गर्न सकिन्छ ः सरोकारवालाहरु


  • लुम्बिनी रिभ्यू

बुटवल, लैंगिक समानताले मात्रै मानवअधिकार सुनिश्चितता गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला , पुरुष वा यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण कसैमाथि असमान व्यवहार र विभेद हुन नहुने बताउदै उनीहरुले कुनैपनि बहानामा भएका लैंगिक असमानता र भेदभावलाई सहन नहुने बताए ।

स्रोत र साधनमा पहुँच कम हुँदा हाल लैंगिक हिंसा र असमानताको मारमा धेरै महिला परेको भएपनि यस्तो हिंसा पुरुष र यौनिक अल्पसंख्यकमाथि पनि हुनसक्ने भएकाले लैंगिक समानताका लागि सबैले काम गर्नुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस अन्तरगतको लिगल एन्ड सिभिक ईजुस सोसाइटीको आयोजनामा आइतबार क्याम्पसमा आयोजना गरिएको लैंगिक समानता ः मानव अधिकारको प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्यानालिष्टको तर्फबाट बोल्दै राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश, कार्यालय प्रमुख हरि ज्ञवालीले मानव अधिकार प्रवद्धनका लागि व्यक्तिको घरदेखि समुदायसम्म जोडिएका लैंगिक असमानतकाका खाडल पुर्नुपर्ने बताउनुभयो । आयोगले लैंगिक समानताका लागि मानवअधिकार उलंघन हुन नदिन मानव अधिकार प्रवद्धनका काम गरीरहेको बताउनुभयो ।


उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सोमकान्त भण्डारीले लैंगिक समानताका लागि देशमा थुप्रै ऐन कानुन बनेको र त्यसको कार्यान्वयनमा आफूहरुले काम गरीरहेको बताउनुभयो । फौजदारी अभियोगमा आउने लैंगिक हिंसाका घटनामा राज्यको पक्षबाट आफूहरुले पीडितको न्यायका लागि काम गर्ने उहाले बताउनुभयो ।
संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले धर्म, सस्कृति र परम्पराका नाममा भएका लैंगिक असमानता अझै पनि कायम रहेको र असमानताले हिंसा जन्माइरहेको बताउनुभयो । हिंसा विरुद्ध बनेका ऐन कानुनको व्यवहारिक पालनमा नभएका स्थानमा संचारमाध्ययमले खबरदारी गरीरहेको बताउदै यस्तो खबरदारीमा नागरिक समाज पनि जोडिनुपर्ने बताउनुभयो । अझैपनि महिलालाई जिम्मेवारी नदिने, नेतृत्व तहमा नपुर्याउने, विश्वाश नगर्ने जस्ता समस्या रहेको बताउदै यसलाई तोड्न महिला सशक्तिकरण र सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष धर्मराज घिमिरेले लैंगिक समानता र मानव अधिकार प्रवद्धनका लागि सरकारको ध्यान नपुगेको क्षेत्र र क्रियाकलापमा गैरसरकारी संस्थाले काम गरीरहेको बताउनुभयो ।


वरीष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले लैगिक समानताका लागि थुप्रै ऐन कानुन रहेको बताउदै अब कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपानेले लैंगिक असमानता रहदासम्म मानवअधिकार प्रत्याभूति हुन नसक्ने भएकाले लैंगिक समानताका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो । उहाले कानुन क्षेत्रका विद्यार्थीहरुलाई अझ बढी लैंगिक हिंसाको विरोध र समानताका पक्षमा लाग्न सुझाब दिनुभयो । कार्यक्रमको सहजीकरण लिगल एण्ड सिभिल इस्युज सोसाइटीका मन्जीला ज्ञवालीले गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend