• Saturday 25th July 2026

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा एक महिला पत्रकार सहित ३ जनाको उमेदवारी

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा एक महिला पत्रकार सहित ३ जनाको उमेदवारी

पत्रकार महासंघ रुपन्देहीकै इतिहासमा पहिलो पटक अमृता अनमोलले अध्यक्ष पदमा उमेदवारी दिएकी हुन् । उनी २१ वर्षदेखि रुपन्देहीमा पत्रकारितामा क्रियाशील छन् ।


  • लुम्बिनी रिभ्यू

रुपन्देही, नेपाल पत्रकार महासंघ रुपन्देहीमा एक महिला पत्रकार सहित ३ जनाको उमेदवारी परेको छ । महासंघको यही मंसिर २८ मा निर्वाचन हुदैछ ।
पत्रकार महासंघमा यसपालि श्रमजीवी महिला पत्रकार नेतृत्वको प्रतिश्पर्धामा उभिएकी छन् । पत्रकार महासंघ रुपन्देहीकै इतिहासमा पहिलो पटक अमृता अनमोलले अध्यक्ष पदमा उमेदवारी दिएकी हुन् । उनी २१ वर्षदेखि रुपन्देहीमा पत्रकारितामा क्रियाशील छन् । उनी हाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष हुन् । ठूला संगठन प्रेस चौतारी नेपाल र प्रेस युनियन बीचको गठबन्धनले गरेको उमेदवार छनोटको प्रक्रियालाई चुनौति दिदै उनले उमेदवारी दिएकी हुन् । उनी प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य हुन् । संचारिका समूह लुम्बिनीका अध्यक्ष समेत रहेकी अनमोलको पक्षमा मतदाताहरु खुलेर लागेका छन् ।
अनमोलसंगै रुपन्देही पत्रकार महासंघमा अध्यक्ष पदका लागि ३ जनाको उमेदवारी परेको छ । प्रेस चौतारी नेपाल र प्रेस युनियनका तर्फबाट दिनेश पाण्डेले अध्यक्षमा उमेदवारी दिएका छन् । उनी हाल सल्लाहकार हुन् । यस्तै समाजवादी प्रेस संगठनबाट विनोद परियारले उमेदवारी दिएका छन् । उनी हाल सचिव हुन् ।
ठूला संगठन  बीचको गठबन्धनका प्रयासबीच श्रमजीवी पत्रकार अनमोल चुनौति दिएर मैदानमा उत्रिएपछि प्रतिश्पर्धा थप रोचक बनेको छ ।रुपन्देहीमा देखिएको प्रतिस्पर्धाले राष्ट्रिय स्तरमा भइरहेको निर्वाचनको चर्चा थप चुलिएको छ ।रुपन्देहीमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस यूनियनको गठबन्धनले दिनेश पाण्डेलाई अध्यक्ष पदका लागि आधिकारिक उम्मेदवारको रूपमा अघि सारेको छ । यद्यपि, यो निर्णयलाई चौतारीभित्रै असन्तुष्ट समूहहरूले चुनौती दिएका छन् । चौतारीकै केन्द्रीय सदस्य अमृता अनमोलले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै गठबन्धनका उम्मेदवार दिनेश पाण्डेको विरूद्धमा प्रतिस्पर्धा गर्न तयार भएकी हुन् । अनमोललाई प्रेस संगठन, समाजवादी प्रेस संगठन र अन्य साना समूहहरूको समर्थन छ । साथै महिलाहरूको निर्णायक मत छ । यसले उनको पक्षमा मत बढ्न सक्ने आधार सिर्जना गरेको छ ।

अनमोलको उम्मेदवारीले गठबन्धनका उम्मेदवारलाई मात्र चुनौती दिएको छैन, यो उम्मेदवारीले महिला नेतृत्वको पक्षमा बलियो सन्देश पनि प्रवाह गरेको छ । अनमोलले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने आवश्यकता र पत्रकारितामा महिलाको समान प्रतिनिधित्वको विषयमा ध्यानाकर्षण गराएकी छिन् । यसले तटस्थ र महिला मतदाताहरू उनको पक्षमा खुलेर लागेका छन् । पछिल्ला वर्षहरूमा महिलाहरूले नेतृत्वमा आफूलाई अब्बल साबित गर्न थालेका छन् । उनीहरूको क्षमताप्रति विश्वास बढ्दो क्रममा छ । यस्तो परिस्थितिमा, पत्रकार महासंघ रुपन्देहीमा महिलाको संख्यात्मक बाहुल्यता भएको स्थानमा महिला उम्मेदवारप्रति झुकाव भएको हो । महिला उम्मेदवारले जित हासिल गर्न सक्ने अर्को आधार भनेको महिला मतदाताहरूबीच देखिएको एकता र सहकार्य हो । महिला सदस्यहरूले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नका लागि महिला उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्ति बढिरहेको छ । यसले अनमोलको पक्षमा बल पुर्‍याएको छ ।

महिला नेतृत्वको पक्षमा मत बढ्ने अर्को महत्त्वपूर्ण आधार भनेको महिला उम्मेदवारको स्पष्ट एजेन्डा र योजना हो । अनमोलले पत्रकारितामा श्रमजीवी पत्रकारको व्यवसायिकता, लैंगिक समानता सुनिश्चितता र समूहहरूसँग सहकार्य गरेर अगाडि बढ्ने योजना सार्वजनिक गरेकी छिन् । नयाँ पुस्ताका पत्रकारहरू, विशेष गरी युवा सदस्यहरू, समावेशी नेतृत्व र महिला प्रतिनिधित्वको महत्वलाई स्वीकार गर्न तयार देखिएका छन् । यसले गर्दा अमृता अनमोलको पक्षमा महिला नेतृत्वको पक्षधर युवा मतदाताहरूको संख्या पनि थपिने सम्भावना छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend