बुटवल – पत्रकार महिलाहरुलाई खोजमूलक समाचार लेख्न कसरी सिकाउने ? यसका उपाय धेरै हुन सक्छन् । पत्रकार महिलाहरुको साझा संस्था संचारिका समूह लुम्बिनीले भने पत्रकार महिलाका लागि खोजमुलक समाचार लेखन कार्यशाला आयोजना गरेको छ ।
सञ्चारिका समुह नेपाल लुम्बिनीको आयोजनामा बिहीबारदेखि बुटवलमा ३ दिने खोजमुलक समाचार लेखन कार्यशाला सुरु भएको हो । पत्रकार महिलालाई अर्थ, राजनीति, सामाजिक, युवा, महिला, सिमान्तकृत समुदाय एवं वातावरणीय विषयमा लैंगिक तथा सामाजिक समावेशीकरणका दृष्टिले खोजमूलक समाचार लेख्न सिकाउने कार्यशालाको उद्धेश्य छ । कार्यशालामा खोजमूलक समाचारका स्रोत, स्रोतको विश्वशनियता र सुरक्षा, तथ्यांकमा खोजी समाचार, खोजमूलक समाचारमा तथ्यांक , समाचारको तथ्य जाँच र परिक्षण, लैससासमा खोजमूलक समाचारका आधारभूत तत्व लगायत सिकाइने छ ।

द एसिया फाउन्डेसनको युएसएड नागरिक समाज र संचार कार्यक्रमको सहयोगमा संचालित लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि सञ्चार पैरवी परियोजना अन्तर्गत कार्यशाला सुरु भएको हो । कार्यशाला ३ दिनसम्म संचालन हुनेछ । कार्यशालामा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी र कपिलवस्तुका २ दर्जन पत्रकार महिलाको सहभागिता छ ।

कार्यशालामा सहभागी पत्रकार महिलाले महिला, युवा र सिमान्तकृत समूदायका विषयमा खोजमूलक समाचार तयार गर्नेछन् । यसकालागि उनीहरुलाई पहिल्यै विषयवस्तु दिइएको थियो । कार्यशालामा अमृता अनमोल, रुपा गहतराज लगायतले सहजीकरण गर्नुभएको छ । उहाहरुले सहभागीलाई समाचारका स्वरुप, संरचना, स्रोत, परिक्षण लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिला लक्षित नीति कार्यक्रम बनाउन सहज भएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । राजनीतिक दलका नेता, सरकार र सदनको नेतृत् वगर्ने व्यक्तिमा रहेको वितृसत्ता नहट्दा महिला लक्षित जतिराम्रा नीति र कार्यक्रम बनेपनि कार्यान्वयनमा लैजान नसकिएको उहाको भनाइ छ ।
संघीयतापछि प्रदेश तहमा महिलाको कुनै संरचना नभएका बेला आफू मन्त्री हुदा महिला परिषद गठनको योजना ल्याएपनि कार्यान्वयनमा नआएको पूर्वमन्त्री अधिकारीले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले महिला संयन्त्र गठनका लागि बजेट छुट्याइए पनि अहिलेसम्म प्रक्रिया नथालिएको बताउदै त्यसका लागि संचारमाध्ययमबाट पनि पहल गर्न उहाले आग्रह गर्नुभयो । प्रदेश सरकार अन्तरगत महिला संरचना नभएकाले महिलाको हक हीत संरक्षण र योजना निर्माणका लागि महिला परिषद आवश्यक रहेको उहाको भनाइ छ । ‘महिलाका बालबालिकाको अधिकार र संरक्षणमा सघाउन कार्यकारी उपाध्यक्ष सहितको महिला परिषद स्थापना गर्ने लक्ष्य लिएका हौं यसमा दलिय धु्रविकरण नभइ काम गर्नुपर्छ ।’ उहाले भन्नुभयो ।

कार्यशालामा बोल्दै मन्त्री अधिकारीले आमा बन्दा रोजगारी गुम्ने अवस्था हुन नदिन आफू मन्त्री हुँदा बुटवल, नेपालगन्ज, घोराही र राप्तीमा श्रमिक लक्षित शीशु स्याहार केन्द्र खोल्न बजेट विनियोजन भएपनि त्यसमा समेत अहिलेसम्म काम नभएको गुनासो गर्नुभयो । यस्तै, महिलालाई रोजगारीमा लगाउन लुम्बिनीका महिला उद्यमशीलतामा पहिला भन्ने कार्यक्रम ल्याएको तर, सो कार्यक्रम पनि कार्यान्वयनमा नगएको यहाको भनाइ छ । सरकार परिवर्तनसँगै हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको मन्त्री अधिकारीले बताउनुभयो । उहाले महिला लक्षित कार्यक्रम राम्रा बनेपनि कार्यान्वयनमा समस्या रहेको बताउदै त्यसलाई खबरदारी आवश्यक रहेको बताउनुभयो ।


लुम्बिनी रिभ्यू