बुटवल, बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मीले ३ , १ सेटमा भारतीय टिमलाई पराजित गरेको छ ।
बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलआर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसन बीच भएको थियो । आर्मीले खेलको पहिलो सेट २२, २५ ले हार्न हारेपनि त्यसपछि खेलको लय समात्दा जीत निकालेको हो ।
त्यसपछि दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर,सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मी मैदान उत्रेको थियो । यद्यपि आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाउनु परेको थियो । निकै प्रतिश्पर्धात्मक खेलमा एक समय २३–१९ अंककासाथ जित नजिक पुगेको स्थितीमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ सम्म पुगेको थियो ।
जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातमा अंक बटुल्दै ६–० ले अग्रता लिएको थियो । आर्मीका स्पाइकरलाई चल्न नदिएपनि आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि गुजरातलाई भारी भएको थियो । तेस्रो सेटमा धन बहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५–२१ अंककासाथ जित निकालेको थियो । भारतीय टिमको कमजोरी पत्ता लगाएको आर्मीले चौथो सेट २५–२२ मा जितेको थियो ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा बिहीबार नै दोस्रो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसन बीच हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलीबल प्रशिक्षण केन्द र रुपन्देहीको मणीमुकुन्द भलीबल क्लबबीच हुनेछ । यसैगरी बिहीबारको अन्तिम खेल सश्स्त्र प्रहरीबल र गल्कोट भलीबल क्लबबीच हुने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो ।
ंमदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।
च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।
प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । ती मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन्।

लुम्बिनी रिभ्यू