बुटवल, सरकारद्वारा राष्ट्रिय सभामा प्रस्तुत सामाजिक संजाल सम्बन्धि विधेयक हुबहु पारित गरिए मानव अधिकार तथा शान्ति समाज आन्दोलनमा जाने जनाएको छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मंगलबार बुटवलमा नागरिक संवाद कार्यक्रम आयोजना गरी विधेयक संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएकाले कार्यान्वयनमा जान दिन नहुने बताएको हो । कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्व सभापति गोविन्द खनालले सामाजिक संजालको आवस्यकता , महत्व र उपयोगिता चुलिदै गएको अवस्थामा निरुत्साहित तुल्याउने खतरा बढेकाले समाज विधेयकको विरोधमा रहेको बताउनुभयो । उहाले सामाजिक संजालको प्रयोग मर्यादित , व्यवस्थित र सुरक्षित गर्न नियमन गर्नै कानुन आवस्यक भएपनि निरुसाहित गर्ने र अन्तर्राष्ट्रिय मानवअधिकार एवम् मानविय कानुनको प्रतिकूल हुने विधेयक स्वीकार्य नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरुले समेत सामाजिक संजालको नियमन जरुरी रहेपछि वर्तमान विधेयक नागरिक र मानवअधिकार मैत्री नभएकाले त्यसलाई फिर्ता लैजान आग्रह गर्नुभएको थियो । कांग्रेस नेता युवराज गीरीले सामाजिक संजाल अनुगमनको नाममा नागरिकको स्वतन्त्रता हनन हुने कानुन बनाउन नहुने बताउनुभयो । एमालेका युवा नेता देवराज पोखरलले लोकतन्त्र र वाक स्वतन्त्रता एक अर्काका परिपुरक भएको बताउदै उक्त विधेयक कार्यान्वयनमा गए लोकतन्त्र नै खतरामा पुग्ने बताउनुभयो ।

उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालले भने सामाजिक संजाल नियमन आवश्यक भएको बताउदै त्यसमा के के प्रावधान कसरी राख्ने भन्नेबारेमा भने छलफल गर्नुपर्ने बताउनुभयो । नागरिक संवादमा माओवादी केन्द्रका शरद ओली, नेपाल मजदुर किसान पाटीका सुन्दर वासी, बुटवल नगरपालिका ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, अग्रज पत्रकार बालकृष्ण चापागाई, नागरिक समाजका ऋषि आजाद, महेन्द्र भुसाल, ज्योति भण्डारी, सीता पौडेल, मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्ण पाण्डे , सचिव लिलाधर लुइँटेल लगायत संचारकर्मीहरुले आफ्ना सुझाब राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता एवं अबधारणा पत्र प्रस्तुत – मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले गर्नुभएको थियो ।

लुम्बिनी रिभ्यू