• Saturday 25th July 2026

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीकाे विशेष सम्बोधनः सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीकाे विशेष सम्बोधनः सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी


  • लुम्बिनी रिभ्यू

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाई नेपाललाई नेपाली आफैले बनाउनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुुपर्ने बताउनुभएको हो ।

‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– कुन ठाउँमा के  उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरू स्थापना र लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ ।

आफ्नो नेतृत्वको सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरूपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।

प्रधानमन्त्री ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले लुम्बिनीे प्रदेशलाई विशेष बनाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो ।

सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।

हालै निर्माणसम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले एक हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरू गरेकामा प्रशंसा गर्नुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend