• Saturday 25th July 2026

संचारमाध्ययमलाई लैंगिकमैत्री बनाउन पत्रकार महिलाको संख्या र क्षमता बढाऔं

संचारमाध्ययमलाई लैंगिकमैत्री बनाउन पत्रकार महिलाको संख्या र क्षमता बढाऔं

संचार गृहलाई कम्तीमा ३३ प्रतिशत महिला राख्नुपर्ने, समान काममा समान पारिश्रमिक र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था अनिवार्य गर्न आग्रह


  • लुम्बिनी रिभ्यू

बुटवल, संचारमाध्ययमलाई लैंगिकमैत्री बनाउन पत्रकार महिलाको संख्या र क्षमता अभिवृद्धि गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । यसका लागि संचार गृह र तीन तहकै सरकारले लगानी बढाउनुपर्ने उनीहरुले बताए । संचार गृहलाई कम्तीमा ३३ प्रतिशत महिला राख्नुपर्ने, समान काममा समान पारिश्रमिक र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न अनिवार्य गर्न आग्रह गरे ।
संचार तथा सुचना प्रविधि मन्त्रालयले मंगलबार बुटवलमा आयोजना गरेको महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो जनाएका हुन् ।कार्यक्रममा बोल्दै मन्त्रालयकी उपसचिव ममता वास्तोलाले पत्रकारितामा प्रवेशदेखि नेतृत्व तहसम्म पत्रकार महिलाको क्षमता बढाउनुपर्ने बताउनुभयो । त्यसकालागि क्षमता विकास र प्रोत्साहनका कार्यक्रम गर्ने उहाले बताउनुभयो ।


प्रेस काउन्सीलका निमित्त अध्यक्ष विजयराज अधिकारीले महिलालाई हेर्ने दृष्टिकोण कमजोर भएका कारण पत्रकार महिला पनि नेतृत्व तहमा पुग्न नसकेको बताउनुभयो । त्यसका लागि ऐन कानुन परिमार्जनदेखि दृष्टिकोण परिवर्तनको सुझाब दिएको उहाले बताउनुभयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चमकान्त चपाईले पुरुषका तुलनामा महिला इमान्दार र कतव्यनिष्ट भएर पत्रकारिता गरेको बताउदै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले पत्रकार र पत्रकारितालाई राज्य र समाजले दिएको महत्वको गरीमा राख्न पत्रकारहरुलाई सुझाब दिनुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारितामा महिलाहरुको सहभागिता र निरन्तरतालाई कायम राख्न सघाउने बताउनुभयो ।


कार्यक्रममा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको अवस्था, अवसर र चुनौतिबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाले संचार गृहले अझैपनि पत्रकार महिलालाई समान काममा समान पारिश्रमिक, अवसर र सुत्केरी विदा नदिएको बताउनुभयो । त्यसले गर्दा आमा बन्दा धेरै पत्रकार महिलाले पत्रकारिता छोड्नुपरेको बताउदै यसलाई रोक्न आग्रह गर्नुभयो । उहाले संचार गृहलाई कम्तीमा ३३ प्रतिशत महिला राख्नुपर्ने, समान काममा समान पारिश्रमिक र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न अनिवार्य गर्न संचार मन्त्रालय र प्रेस काउन्सीललाई आग्रह समेत गर्नुभयो ।
संचारिका समूह रुपन्देहीका अध्यक्ष मीना ढकालले पत्रकार महिलालाई प्रोत्साहन र आत्मविश्वास र क्षमता विकासका काम गर्न आग्रह गर्नुभयो । संचार तथा सुचना प्रविधि मन्त्रालयका अधिकृत थानेश्वर ज्ञवालीले पत्रकार महिलाले उठाएका सवाललाई नीतिगत रुपमा उठाउन मन्त्रालयमा बुझाउने बताउनुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend