बुटवल, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पीडितको न्यायको पहिलो ढोका नै प्रहरी भएकाले हिंसा पीडितका सवालमा प्रहरी संवेदनशील हुनुपर्ने बताउनुभएको छ । अन्य हिंसाका तुलनामा लैंगिक हिंसा पीडित र बालबालिकाका सवालमा प्रहरीले थप संवेदनशील भएर काम गर्नुपर्ने उहाले बताउनुभयो ।
मन्त्री तिमिल्सिनाले घर र आफन्तले गरेको हिंसा बताउने र आश्रय लिने स्थल समेत प्रहरी भएकाले प्रहरीले पीडितलाई आफ्नोस्थानमा राखेर परामर्श र सहजीकरण गर्न सुझाब दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरीसँगको सहकार्यमा बुटवलमा सुरु गरेको प्रहरीका लागि प्रदेशस्तरीय मनोसामाजिक विमर्श तालिम उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रहरीमा हुने परामर्श र सहजीकरणको न्याय प्राप्ति र पीडितको पुर्नस्थापनामा ठूलो महत्व रहेको बताउनुभयो । उहाले पीडितलाई थप पीडित हुन नदिन, छिटो न्याय प्राप्ति गर्न र समुदायमा हुने हिंसा रोकथाममा पनि मनोसामाजिक विमर्श तालिम उपयोगी हुने अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री तिमिल्सिनाले लैंगिक हिंसाका हिसाबले लुम्बिनी प्रदेश मधेशपछि दोस्रोमा रहेको बताउदै त्यसलाई रोक्न पनि प्रहरीमा सीप र क्षमता आवश्यक रहेको बताउनुभयो ।
उहाले प्रदेश सरकारले समेत हिंसा विरुद्धका विभिन्न कार्यक्रम अगाडि बढाएको बताउदै त्यसमा प्रहरीसँग आवश्यक समन्वय र सहकार्य हुने बताउनुभयो । घरबाट निकालिएका लैंगिक हिंसापीडितलाई कहाँ राख्ने भन्ने सवाल निकै समस्यायुक्त रहेको बताउदै त्यसलाई कम गर्ने उहाले बताउनुभयो । मन्त्री तिमिल्सिनाले संघीय मन्त्रालयको समन्वयमा दाङको घोराहीमा प्रदेशस्तरीय सुरक्षित दीर्घकालिन आवास गृह बनाउने काम अगाडि बढाएको समेत जानाकारी दिनुभयो ।

लुम्बिनी रिभ्यू