बुटवल, लैंगिक हिंसाका घटना निवारण र हिंसा प्रभावितको सुरक्षाका लागि भन्दै सरकारले देशभरका प्रहरी कर्मचारीको सीप र क्षमता विकास थालेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरीसँगको सहकार्यमा लैंगिक हिंसा, घरेलु हिंसा र बालबालिका सम्बन्धी संवेदनशील घटनाका पीडितहरुसँग परामर्श गर्ने , सुरक्षा र सहजीकरण गर्ने सीप सिकाउन थालेको हो । सही परामर्श नहुँदा पीडितले आफ्ना पीडा खोल्न नसक्ने र सही न्याय नपाउने गुनासो बढेपछि मन्त्रालयले हरेक प्रदेशमा प्रदेशस्तरीय मनोसामाजिक विमर्श तालिम दिन थालेको छ । मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायले ३ तहकै सरकारको समन्वयमा सीप तथा क्षमता विकास र पूर्वाधार विस्तारका काम थालेको बताउनुभयो ।

पहिलो चरणमा लैंगिक हिंसाका धेरै घटना हुने मधेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेश छनोट भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबारदेखि प्रदेश स्तरीय मनोसामाजिक विमर्श तालिम सुरु भएको छ । तालिममा प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत १२ जिल्लाका प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्म २४ जना सहभागी छन् । उनीहरुलाई १६ दिनसम्म पीडितसँग गर्ने व्यवहार र सामाजिक विमर्शका तरिका सिकाइने छ ।
तालिम उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पीडित व्यक्तिको न्यायको ढोका नै प्रहरी भएकाले प्रहरीमा हुने परामर्श र सहजीकरणको न्याय प्राप्ति र पीडितको पुर्नस्थापनामा ठूलो महत्व हुने बताउनुभयो । उहाले पीडितलाई थप पीडित हुन नदिन, छिटो न्याय प्राप्ति गर्न र समुदायमा हुने हिंसा रोकथाममा पनि मनोसामाजिक विमर्श तालिम उपयोगी हुने अपेक्षा व्यक्त गर्नुभयो । लैंगिक हिंसाका हिसाबले लुम्बिनी प्रदेश मधेशपछि दोस्रोमा रहेको बताउदै त्यसलाई रोक्न पनि प्रहरीमा सीप र क्षमता आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र प्रमुख माधव प्रसाद श्रेष्ठले लैंगिक हिंसा प्रभावितको मनोभावना बुझेर परामर्श गर्न मात्र होइन हिंसाका घटना रोकथाममा सघाउने सीप सिकाउने गरी तालिम संचालन भएको बताउनुभयो ।

लुम्बिनी रिभ्यू