• Saturday 25th July 2026

भैरहवामा अत्याधुनिक कृषि बजार तर आउन सकेन सञ्चालनमा

भैरहवामा अत्याधुनिक कृषि बजार तर आउन सकेन सञ्चालनमा

भवन खाली, सडकमा व्यापार, हाटबजारका साना व्यापारीले भवनको भाडा तिर्न सकेनन्


  • लुम्बिनी रिभ्यू

नम्रता अर्याल
भैरहवा– रुपन्देहीको भैरहवामा अत्याधुनिक कृषि बजार निर्माण भएको छ । सिद्धार्थनगर नगरपालिकाले कृषि उपजको व्यापारलाई व्यवस्थित गर्न भन्दै वडा न ं५ र १३ मा अत्याधुनिक कृषि भवन बनाएको हो । भवन बनेको ३ वर्षपुग्दा पनि भवन संचालन हुन भने सकेको छैन । भवन भाडामा लगाउन पटक पटक सुचना निकालेपनि भाडामा नगएको नगरपालिकाको भनाइ छ । तर, स्थानीयहरु सडक किनारमा सामान बेच्ने साना किसानलाई महलको भाडा तिरेर व्यापार गर्न लगाउन खोज्दा समस्या भएको बताउछन् ।
कृषि भवन हाल संचालन भइरहेको हाटबजार छेउमा छ । भवन निर्माण सम्पन्न भएको लामो समय बित्दा पनि संचालनमा आउन सकेको छैन । भवन संचालनमा नआउदा अहिले सडक क्षेत्रमै बजार लाग्दै आएको छ । यसले सवारी जाम हुने र दुर्घटनाका घटना बढेका छन । संचालनको जिम्मा लिएको सिद्धार्थनगर नरपालिकाले कृषि बजार संचालनका लागि पटक पटक टेन्डर खोलेपनि भाडामा नजादा समस्या भएको छ । तर, अन्य विकल्पबारे छलफल गरेको पाइदैन । यस भवनलाई भाडामा लगाउनको लागि ३ पटक भाडाको टेण्डर आवहृान गर्दा समेत कोही नआएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताउनुहुन्छ ।

सामान्यतया हाट बजार भन्नाले किसान वा स्थानीय उत्पादनका सामान ल्याएर खुला आकाश मुनि बेच्ने ठाउँ हो । नुनदेखि सुनसम्मको कारोबार हुने हाटमा विपन्नदेखि उच्च वर्गका मानिसहरुको समान पहुँच हुन्छ । हाटबजारमा सामान बेच्नेहरु सातै दिन यता उताका हाटबजार गएर सामान बेच्छन् ।
हाट बजारमा किसानले सिधै ल्याएर सामान बेच्न पनि सक्छन् । हाटको धेरै भाडा नलाग्ने भएकाले अन्य व्यापारीले पनि अन्य ठूला पसल र सपिङ महलमा भन्दा केहि सस्तोमा सामान खरिद गर्न सकिन्छ भन्ने जनमानसमा बुझाई रहेको छ । त्यसैले हाटबजारमा सामान किन्नेहरुको भीड लाग्छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भने खुला आकाशमुनि लाग्ने हाट बजारलाई चार दिवाल भित्र राख्न करोडौंको भवन तयार पारेको छ ।
कृषि उपजको व्यापारलाई व्यवस्थित गर्न भन्दै रुपन्देहीको भैरहवामा अत्याधुनिक कृषि बजार निर्माण भएको छ । सिद्धार्थनगर नगरपालिका वडा न ं५ र १३ मा निमार्ण हुने उक्त अत्याधुनिक भवनलाई ब्लक ए र बी बनाएर छुट्टाइएको छ । जसमा ए ब्लकको निर्माण भने २०७९ मा नै सम्पन्न भएको थियो । नगरपालिकाले उक्त भवन भाडामा लगाउनका लागि पहिलो पटक २०७९ पुस ५ गते सुचना निकालेको थियो । तर पटक पटक सुचना निकाल्दा समेत भाडामा लैजान नसकेपछि थप विकल्प खोज्नुपर्ने भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताउनुहुन्छ ।
भैरहवाको यो बजार पुरानो मध्येको एक हो । विस २००७ साल तिर सुरु भएको भैरहवाको यो हाट बजारको पुरानो इतिहास छ ।सयौं साल पुरानो हाट बजार संस्कृतिलाई मेटाउँदै करोडांैको लागतमा भवन निर्माण गरिएको प्रति स्थानिय नागरिक अगुवा विजय सागर आक्रोश पोख्नुहुन्छ । भवन को साटो हाट लाग्ने गरेकै स्थामा गर्मी हुँदा घाम छेक्ने र पानी पर्दा ओत दिने किसिमले संरचना तयार गर्नु उचित हुने उहाँ बताउनुहुन्छ । संचालनका नआएको उक्त भवनलाई विकल्पको रुपमा चिस्यान केन्द र अन्य ब्यवसायहरु राख्न सकिने नागरिक अगुवा विजय सागरको सुझाव छ।
भैरहवामा लाग्ने यो हाट बजारमा ६० प्रतिशत तरकारीलाई छुट्टाइएको हुन्छ । प्रत्येक दिनको हाटबजारमा किसानले हरिया तराकारी लिएर आउँछन बचेको फिर्ता लिएर जान्छन् । एउटा साग बेच्ने ब्यापारी र साग किन्नकै लागि ३, ४ तला जान सक्दैन । त्यो धारणा अझै बनेको छैन । हाट बजार ब्यवसायी संघका अध्यक्ष होमराज पोख्रेलका अनुसार हाट बजार भनेको बन्द कम्प्लेक्स भित्र हुँदैन खुला आकाश मुनि हुने हो । किसानले आफ्नो बारीमा उब्जनी हुँदा मात्र बेच्न आउने भएकाले बर्षभरिको एउटा सटरको भाडा तिर्न नसक्ने उहाँले बताउनु भयो । बजार चलायमान नहुदासम्म किसानलाई प्रयोग गर्छन् तर बजार चलायमान भएपछि अन्यत्रबाट व्यापारी ल्याएर व्यापार गर्न दिने किसानहरुको दुखेसो छ ।
संघ र प्रदेश सराकारको लगानी रहेको यस भवनको निर्माण कार्यलाई ब्लक ए र बिको लगि छुट्टा छुट्टै सम्झौता गरिएको थियो । ब्लक ए अन्तर्गतको भवन निर्माणका लागि १२ करोड ५४ लाख ६० हजार सात सय एकहत्तर रुपैंया बजेट आव्हान गरेकोमा ९ करोड ५८ लाख ५२ हजार एक सय चौवन्न रुपैंयामा सम्झौता भएको थियो । तर फिनिसिङ्ग लगायतका काम सम्पन्न गर्दा भने १३ करोड बढी खर्च भएको नगरपालिकाका इन्जिनियर सागर श्रेष्ठले बताउनु भयो । इन्जिनियर श्रेष्ठका अनुसार ब्लक बी अन्तर्गतको भवन निर्माणका लागि २४ करोड २७ लाख ४८ हजार चार सय उनन्पचास रुपैयाँ बजेट आवहृान गरेकोमा बिकास एण्ड ब्रदर्श आत्रेय र बस्नेत जेभी सिनामङलले १६ करोड ३८ लाख १७ हजार दुई सय साठी रुपैंयामा सम्झौता गरेको थियो । तर अहिले बजेट अभाभको कारणले गर्दा काम रोकिएको छ । पुरानो ३ करोड रुपैंया भुक्तानि हुन अझै बाँकी छ ।

६ तल्ले भवनमा निमार्ण हुने यस भवनमा बेसमेन्ट,चिस्यान केन्द,आधुनिक कृषि बजार,रेष्टुरेण्ट,लगायतको सुबिधा रहने बताइएको छ । तर जुन उद्धेश्यका साथ यो निर्माण गरिएको हो त्यो उद्धेश्य राम्रो भएता पनि आर्थिक मन्दीसंगै भाडा महंगो र बजार क्षेत्र भन्दा अलि भित्र भएकोले ब्यापारीहरु आर्कषित हुन नसकेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले बताउनु भयो ।
पछिल्लो समय भने उक्त भवनलाई सञ्चालनका लागि वडा नं ५ का वडा अध्यक्षको संयोजकत्वमा बजार ब्यवस्थापन समिति गठन भएको छ । त्यसले बजार सन्चालनका लागि तयारी गरीरहेकाले अब छिटै सन्चालनमा जाने नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताउनु भयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend