अमृता अनमोल
बुटवल – केही वर्षअघिसम्म रुपन्देहीको भैरहवामा वर्षा लाग्यो कि डुवानले सताउथ्यो । मुख्य बजार क्षेत्रमै पानीले भरीभराउ हुन्थ्यो । डुवानसँगै फोहर र साघुरा बाटाले भैरहवा बजारप्रति धेरैको मन जादैनथ्यो ।
त्यही भैरहवाको रुप अहिले फेरिएको छ । जहाँ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, फराकिला , ठूला र नाली सहितका व्यवस्थित सडक बनेका छन् । सडकसँगै बनेका नालीले वर्षाको पानी सलल बगाउछ । भैरहवालाई डुवान हुनबाट रोकेको छ । सिद्धार्थनगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली सडक बनाइएको छ। बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिला सडक छन् । भैरहवामै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । विशेष आर्थिक क्षेत्र सेज, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प्रवेशद्वार, तारे होटल, ‘सपिङ मल’, क्रिकेट रङ्गशालाले भैरहवाको आकर्षण बढाएका छन् । पूर्वाधार विकासले भैरहवाको मूहार अहिले फेरिएको छ । अबको २ वर्षमा भैरहवा अझ व्यवस्थित र सुबिधा सम्पन्न शहर बन्ने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी बताउनुहुन्छ ।
भैरहवाले पछिल्लो समय व्यवस्थित सहरीकरणको परिचय बनाएको छ । विशेष गरी एसियाली विकास बैंकले भैरहवामा गरेको लगानीको कारण यसको मुहार फेरिएको छ । भैरहवाका भित्री बाटो फराकिलो बनेका छन् । बाटोको छेउमा रहेको ग्रिनरीले यसलाई थप सुन्दर बनाएको छ । भैरहवा–बुटवल ६ लेनको व्यापारिक मार्ग, यसमा रहेका अपाङ्गतामैत्री आकाशे पुल, भैरहवा–तौलिहवा चार लेनको बाटोले नगरलाई भव्य बनाउन सहयोग गरेका छन् । भैरहवामा प्रवेश गर्ने पर्यटकका लागि बेलहियाबाट एक किलोमिटर उत्तर सात करोड बढीको लागतमा आकर्षक प्रवेशद्वार बनेको छ ।
भैरहवामा मुलुककै दोस्रो ठूलो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । करिब ३० अर्बको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी विमानको उडानसमेत सुरु भएको छ । गौतमबुद्ध विमानस्थल अहिले वैदेशिक रोजगारीमा जान चाहनेका लागि रोजाइँमा पर्ने गरेको छ । अहिले उडान भरिरहेको जजिरा एयरमा पनि आउने जानेको संख्या बराबरजस्तो रहेको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको अर्को परिचय हो । स्थलमार्ग हँुदै सबै भन्दा बढी पर्यटक आउने भैरहवामा अब अन्तर्राष्ट्रिय हवाई मार्ग पनि जोडिएको छ । यसले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै बढावा दिएको पर्यटन व्यवसायीहरु बताउछन् ।
भैरहवालाई आकर्षक बनाउनमा यहाका होटल व्यवसायको पनि उत्तिकै सहयोग छ । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ भैरहवा, लुम्बिनी तथा बेलहियामा गरी ८९ वटा स्तरीय होटल रहेको बताउनुहुन्छ । होटल कसाइ, होक्के, पवन प्यालेस, टाईगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायतकास्तरीय होटलको लामै सूची छ यहाँ । यस अतिरिक्त अहिले करिब आधादर्जन पाँच तारे होटल निर्माणाधीन अवस्थामा रहेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भित्र्याउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा अहिले अर्बौको लगानी भइरहेको छ । यस बाहेक पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा ६ वटा मिनी क्यासिनोसमेत सञ्चालनमा रहेका छन् । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनो नै कोभिडपछिको वर्तमान अवस्थामा यस क्षेत्रको विदेशी मुद्राको साधन बनेका छन् ।
भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल तथा भैरहवा–परासी औद्योगिक कोरिडोर गरी यहाँ दर्जनाँै उद्योग रहेका छन् । मुलुुककै अर्थतन्त्रमा असर गरिरहेका पञ्चकन्या समूह, अर्घाखाँची सिमेन्ट, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, श्री स्टिल, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट लगायतका उद्योग रहेका छन् । औद्योगिक विकासको सम्भावना देखेर नै उद्योगीमा अहिले यहाँ लगानी गर्न आकर्षण बढेको छ । अहिले भैरहवा–परासी करिडोरमा ठूलाठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, चाउचाउ, खाद्यान्न, दाल, साबुन, मैदा, बियर, छाला, बिस्कुट, कृषिजन्य उद्योग भैरहवामा सञ्चालन भइरहेका छन् ।
यस बाहेक मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र ९सेज० पनि भैरहवामा सञ्चालनमा आइसकेको छ । कूल ५२ बिघा क्षेत्रफलमा रहेको सेजमा एक हजार चार सय देखी तीन हजार सात सय वर्गमिटर सम्मका ६८ वटा प्लट रहे पनि हालसम्म सात वटा उद्योग सञ्चालनमा आइसकेका छन् ।
भैरहवामा देशकै दोस्रो ठूलो भन्सार नाका छ । स्थलमार्गबाट सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामै दोस्रो ठूलो भन्सार रहेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार यस भन्सारले गत आर्थिक वर्षमा रु एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख पच्चीस राजश्व आर्जन गरेको थियो । दैनिक सरदर चार मालबाहक ट्रक भित्र्याइरहेको भैरहवा भन्सार नाकाबन्दीको समयमा पनि चलेको थियो । भैरहवा भन्सार वीरगञ्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ । भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ । आयातनिर्यातका लागि सहज पहुँच भएको भैरहवा नाका मुलुककै ‘लाइफलाइन’ बनेको छ ।
भन्सारमा मालबाहक सवारीको चाप बढ्दै जाँदा अहिले पार्किङको समस्या बढेको छ । नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी आइसिपी निर्माण गर्दै छन् । नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । तर भारतले जग्गा अधिग्रहणको काम सकिसकेको छैन । अहिले ‘आइसिपी’ बनाउने भनिएको जग्गामा कन्टेनर पार्किङ गर्न थालिएको छ ।
भैरहवाबाट लुम्बनी जाने पर्यटकलाई पनि “लुम्बिनी गेट”ले स्वागत गरिरहेको छ । पर्यटकीय, औद्योगिक र व्यवस्थित सहरीकरण रहेको भैरहवा मेडिकल तथा बैंकिङ हब पनि हो । भैरहवामा रहेको रण अम्बिका शाह आँखा अस्पतालमा आउने आँखाका बिरामीमा ९० प्रतिशत भारतीय रहेका छन् । यसबाहेक यो अस्पतालले तेस्रो मुलुककासमेत बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।
यस क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा रहेको अस्पतालको कारण “हेल्थ टुरिज्म” समेत फस्टाएको छ । यस्तै भैरहवामै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि ख्याति कमाएको छ । अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार सात सय शैयाको अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्षेत्रमा सिद्धार्थनगर सिटी अस्पताल, क्रिमसन अस्पतालले पनि उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा रहेका छन् । भैरहवामा चहलपहल बढ्दै जादाप्राय सबै वाणिज्य बैंकहरुले आफ्नो शाखा खोलेका छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले भैरहवालाई थप सुन्दर र हराभरा बनाउने लक्ष्य रहेको बताउनुभयो । भैरहवालाई सुन्दर र हराभरा बनाएर पर्यटकिय शहर बनाउन थुप्रै योजना बनेका छन् । ती योजना कार्यान्यवनमा जाँदा भैरहवा झनझन् आकर्षक बन्ने छ ।

लुम्बिनी रिभ्यू