नम्रता अर्याल
तिलोत्तमा – रुपन्देहीको मध्यभागमा रहेको तिलोत्तमा नगरपालिकाले सडक स्तरोन्नतिका लागि नयाँ आयोजना अघि सारेको छ । एशियाली विकास बैंकको सहयोगमा करिब डेढ अर्ब रुपैयाँको लगानीमा ड्राइभरटोलदेखि शिवपुरसम्म र पथ्थरडाँडादेखि तिनाउ खोलासम्म सडक विस्तारको तयारी भैरहेको छ । त्यसमा करिब ७७% एसियाली विकास बैंक एडिबीको ऋण सहयोग हो । ड्राइभरटोलदेखि शिवपुरसम्मको सडक ६.८१ किलोमिटर छ । पथ्थरडाँडादेखि तिनाउ खोलासम्मको सडक ६.३५ किलोमिटर छ ।
तिलोत्तमा नगरपालिकाका अनुसार अधिकांश सडक डबल लेनको हुनेछ । आरसीसी ढल निकास, फुटपाथ र ५२ वटा क्रस ड्रेनेज संरचना निर्माण गरिनेछ । सडक निर्माणका लागि हाल बोलपत्र आब्हान गरेको छ । नगरपालिकाका बरिष्ठ इन्जिनियर प्रदिप वनका अनुसार त्यसमा हाल ६ वटा निर्माण कम्पनीले आवेदन दिएका छन् । ती भारत र चीनका कम्पनी पनि छन् । अहिले प्राविधिक मूल्याकंनको काम भैरहेको छ । प्राविधिक मूल्याकंन पास गरेका संस्थाको नामावली निकाले पछि आयोजनाको आर्थिक प्रस्तावको माग गरिनेछ । जसले सबै भन्दा कम मुल्यमा आवेदन पेस गर्छ । सोही कम्पनी सङ्ग सम्झौता गरिने उहाँको भनाइ छ । प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्ताव हेरेर नियमअनुसार ठेक्का सम्झौताको प्रक्रिया अघि बढ्ने वनले बताउनुभयो ।
सडक निर्माणका लागि तिलोत्तमा नगरपालिकाको तर्फबाट संघीय सरकारले एडिबीसँग ऋण सम्झौता गरीसकेको छ । सोही अनुसार शहरी विकास विभाग र नगरपालिका बिच सम्झौता भएको छ । ३५ वर्षमा तिरिसक्ने गरेर ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाडले सडक विकासको पहिलो पूर्वाधार भएकाले एडिबीको ऋण सहयोगमा भएपनि सडक बिस्तार थालेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको आन्तरिक स्रोतले नपुग्ने भएपनि ऋण सहयोग खोजिएको हो । एसियाली विकास बैंकको सहयोगमा बन्न थालेका ड्राइभरटोलदेखि शिवपुरसम्म र पथ्थरडाँडादेखि तिनाउ खोलासम्म सडक तिलोत्तमा नगरपालिका महत्वपूर्ण र व्यस्त सडक हुन् । यी सडकको समयमै विस्तार गरे तिलोत्तमाका गाउँलाई बजारसँग जोड्न सकिने नगरप्रमुख खाडको भनाइ छ ।
तिलोत्तमा नगरपालिका भित्र हाल कुल सडक लम्बाइ ८६४.०५ किलोमिटर रहेको छ । यसमध्ये कालोपत्रे ४१५.३८ किलोमिटर, ग्राभेल १३२.८३ किलोमिटर र कच्ची सडक २८९.३२ किलोमिटर छन् । यस तथ्यांकले तिलोत्तमा नगरपालिकाले सडक पूर्वाधार निर्माणमा सक्रियता देखाएको प्रष्ट हुन्छ।
केही सरोकारवालाहरु सडक समयमा पूरा नहुने हो कि भन्ने चिन्तामा छन् । अन्य सडक जस्तै एडिबीले ऋण दिएर बनाइने यी सडक निर्माण कम्पनीले समयमा पूरा गर्नुपर्ने उनीहरुको चाहना छ । त्यसका लागि तोकिएको समयमा काम नभए, गुणस्तरीय काम गर्न नसकेको खण्डमा जरिवाना गर्ने र कालोसुचीमा राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्छ । सडक निर्माणको अनुगमनमा स्थानीय जनप्रतिनिधि र नागरिक समावेश गरिने गरी स्थानीय अनुगमन समिति गठन गर्नुपर्ने माग पनि तीव्र हुँदैछ । नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी थारुले एशियाली विकास बैंकको सहयोगमा बन्ने सडक समयमा बनाउन र गुणस्तरीयता कायम राख्न नगरपालिकाले नियमित अनुगमन र निगरानी गर्ने बताउनुभयो।

लुम्बिनी रिभ्यू