नम्रता अर्याल
बुटवल, आधुनिक जीवनशैलीको दौडधुप र एकल परिवारको बढ्दो प्रचलनले नेपाली समाजमा एउटा गहिरो खाडल सिर्जना गरिरहेको छ— घरका ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरूको स्याहारसुसारको अभाव । यही सामाजिक यथार्थलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाले एक दूरगामी र मानवीय पहलकदमी अघि बढाएको छ । ’उप–प्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम’ । यस अन्तर्गत पहिलो पटक सञ्चालित ४५ दिने ‘केयर गिभर’ (स्याहारकर्ता) तालिमले महिलालाई स्वरोजगार बनाउने मात्र नभई समुदायमा सेवाको एउटा नयाँ अध्याय सुरु गरेको छ ।
बढ्दो सहरीकरणसँगै रोजगारी र अवसरका लागि परिवारका सदस्यहरू घरबाहिर हुँदा ज्येष्ठ नागरिक र बिरामीहरू एक्लोपन र उचित स्याहारको अभावमा बाँच्न विवश छन् । यही समस्याको व्यावहारिक समाधान खोज्दै उपमहानगरपालिकाले बेरोजगार अवस्थामा रहेका गृहिणी तथा अन्य महिलाहरूलाई व्यावसायिक सीप प्रदान गरी उनीहरूको श्रम, समय र ममतालाई आयआर्जनसँग जोड्ने पुल निर्माण गरेको हो । यो तालिम केवल बिरामीलाई खाना खुवाउने वा सरसफाइ गरिदिने परम्परागत धारणाभन्दा धेरै माथि उठेर एक व्यावसायिक स्याहारकर्तामा हुनुपर्ने प्राविधिक ज्ञान, व्यावहारिक सीप र मानवीय संवेदनाको संगम बनेको छ ।

तालिमको गहिराइ यसमा सिकाइएका विषयवस्तुबाटै प्रष्ट हुन्छ । यसको आधारभूत तर महत्त्वपूर्ण पक्ष व्यक्तिगत सरसफाइ र स्वच्छता हो । सहभागीहरूलाई ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई ओछ्यानमै कसरी नुहाइदिने (स्पन्ज बाथ), नङ काटिदिने, कपाल कोरिदिने, मुख र आँखाको सफाइ गर्ने जस्ता कार्यहरूको व्यावहारिक अभ्यास गराइयो । यसले बिरामीलाई संक्रमणबाट बचाउनुका साथै उनीहरूमा स्फूर्ति र सम्मानको भाव जगाउँछ । एक दक्ष केयर गिभरले सामान्य स्वास्थ्य सूचकहरू नाप्न सक्नुपर्छ भन्ने मान्यताका साथ तालिममा सहभागीहरूले डिजिटल उपकरणमार्फत रक्तचाप जाँच्ने, थर्मोमिटर प्रयोग गरी शरीरको तापक्रम लिने, रगतमा अक्सिजनको मात्रा र मुटुको धड्कन मापन गर्ने जस्ता अत्यावश्यक सीपहरू पनि सिकेका छन् । “पहिले बीपी नाप्ने मेसिन देख्दा पनि डर लाग्थ्यो, अहिले आफैँले ढुक्कसँग नाप्न सक्ने भएकी छु,“ तालिमकी एक सहभागी सुरक्षा अर्यालले आत्मविश्वासका साथ बताइन् ।
बिरामी र वृद्धवृद्धाको स्वास्थ्यमा पोषणको सबैभन्दा ठूलो भूमिका हुने हुँदा उनीहरूको अवस्थाअनुसार ठोस, झोलिलो वा नरम खाना कसरी तयार पार्ने र खुवाउने भन्ने व्यावहारिक ज्ञान पनि दिइएको थियो । विशेषगरी, विभिन्न पौष्टिक अन्नहरू मिसाएर बनाइने ’सर्वोत्कृष्ट पिठो’ तयार गर्ने विधिले उनीहरूलाई घरमै सस्तो र स्वस्थकर पोषणयुक्त आहार बनाउन सक्षम बनाएको छ ।
यद्यपि, स्याहार शारीरिक मात्र होइन, मानसिक पनि हो भन्ने तथ्यलाई यस तालिमले विशेष जोड दिएको छ । ज्येष्ठ नागरिकहरूमा हुने एक्लोपन, निराशा र बिरामीहरूमा हुने मानसिक तनावलाई कसरी बुझ्ने र उनीहरूसँग कसरी संवेदनशील व्यवहार गर्ने भन्ने सिकाइएको छ । उनीहरूका कुरा सुनिदिने, उनीहरूसँग गफ गर्ने र उनीहरूलाई भावनात्मक रूपमा बलियो बनाउने कलाले यस तालिमलाई अझ मानवीय बनाएको छ । सहभागी पार्बती पन्थी भन्छिन्, “स्याहार भनेको औषधि र खाना मात्र होइन रहेछ, माया र मिठो बोलीको पनि उत्तिकै महत्त्व हुँदो रहेछ भन्ने बुझ्यौँ ।“ यसका साथै, घरमा हुन सक्ने आकस्मिक दुर्घटनाहरू जस्तै, सर्प वा कुकुरको टोकाइ र सामान्य चोटपटकमा तत्काल के गर्ने भन्ने प्राथमिक उपचारको ज्ञानले सहभागीहरूलाई कुनै पनि आपतकालीन स्थितिको सामना गर्न सक्षम बनाएको छ ।

तालिममा सहभागी महिलाहरूले यो सीपले आफ्नो जीवनमा नयाँ ढोका खोलेको बताएका छन् । अधिकांश समय घरको काममा मात्र सीमित उनीहरू अब एउटा व्यावसायिक पहिचानसहित आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नेमा विश्वस्त छन् । “पहिले घरखर्चका लागि श्रीमान् वा परिवारकै भर पर्नुपथ्र्यो । अब यो सीप प्रयोग गरेर आफ्नै खुट्टामा उभिन सक्छु भन्ने हिम्मत आएको छ,“ सहभागी हेमा गौडेलले उत्साहित हुँदै सुनाइन् । त्यस्तै, अर्की सहभागी बिमला गौतमका अनुसार यो तालिमले समाजसेवा र रोजगारीलाई एकैसाथ जोडेको छ । “आफ्नै छिमेकमा कतिपय वृद्धवृद्धा स्याहार नपाएर बस्नुभएको छ । अब उहाँहरूको सेवा गरेरै आम्दानी गर्न सकिने भयो । योभन्दा ठूलो सन्तुष्टि के होला र?“ उनको यो भनाइले कार्यक्रमको सामाजिक प्रभावलाई दर्शाउँछ ।
बुटवल उपमहानगरपालिकाको यो पहल प्रशंसनीय भए पनि यसको सफलता यसको दिगोपनामा निर्भर रहन्छ । यसलाई एक पटकको कार्यक्रममा मात्र सीमित नगरी संस्थागत गर्नुपर्ने आवश्यकता छ । यसका केही चुनौतीहरू पनि छन्, जसमा ’स्याहारकर्ता’ को कामलाई समाजमा अझै पनि तल्लो स्तरको वा घरेलु कामदारको रूपमा हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु प्रमुख हो । साथै, तालिम प्राप्त जनशक्तिको गुणस्तर एकनासको बनाउन र उनीहरूलाई आधिकारिक रूपमा प्रमाणित गर्ने निकायको अभाव छ । दक्ष केयर गिभर र सेवा चाहिने परिवारबीच सम्पर्क गराइदिने भरपर्दो संयन्त्रको विकास गर्नु र उनीहरूको पारिश्रमिक तथा कार्यसम्मान सुनिश्चित गर्ने मापदण्ड बनाउनु पनि उत्तिकै जरुरी छ ।
यी चुनौतीहरूको समाधानका लागि केही ठोस उपायहरू अवलम्बन गर्न सकिन्छ । उपमहानगरपालिकाले तालिम प्राप्त महिलाहरूको सूचीसहितको ’केयर गिभर बैंक’ वा रजिस्ट्री स्थापना गर्न सक्छ, जहाँबाट आवश्यक पर्ने परिवारले प्रमाणित र विश्वसनीय जनशक्ति पाउन सक्छन् । स्थानीय अस्पताल, क्लिनिक र वृद्धाश्रमहरूसँग समन्वय गरी तालिम प्राप्त जनशक्तिलाई सिधै रोजगारीमा जोड्दा यसको प्रभावकारिता बढ्नेछ । आधारभूत तालिमपछि अल्जाइमर्स, डिमेन्सिया वा प्यालिएटिभ केयर जस्ता विशेष तालिमहरू सञ्चालन गरी उनीहरूको सीप स्तरोन्नति गर्न सकिन्छ । केयर गिभरको महत्त्व र यो एक सम्मानजनक पेशा हो भन्नेबारे जनचेतना फैलाउनुका साथै यस्ता कार्यक्रमलाई वार्षिक बजेटमा नै सुनिश्चित गरी यसको निरन्तरताको ग्यारेन्टी गर्नुपर्छ ।

बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख साबित्रा अर्यालका अनुसार यो कार्यक्रम महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउने अभियानको एक महत्त्वपूर्ण हिस्सा हो । “हाम्रो उद्देश्य महिलालाई परम्परागत सीपमा मात्र सीमित नराखी बजारको मागअनुसारको नयाँ र व्यावसायिक सीपमा जोड्नु हो,“ उहाँले भन्नुभयो, “केयर गिभरको माग स्वदेशमा मात्र होइन, विकसित मुलुकहरूमा पनि अत्यधिक छ । यो तालिमले उहाँहरूका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै बजारको ढोका खोलेको छ ।“
अन्ततः, बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित यो केयर गिभर तालिम केवल एउटा तालिम मात्र नभई सामाजिक उत्तरदायित्व, महिला सशक्तीकरण र स्थानीय रोजगारी सिर्जनाको एक एकीकृत मोडेल हो । यसले एकातिर स्याहारको पर्खाइमा रहेकाहरूलाई गुणस्तरीय र मानवीय सेवा प्रदान गर्ने आधार तयार गरेको छ भने अर्कोतिर गृहिणीको रूपमा सीमित महिलाहरूलाई व्यावसायिक पहिचानसहित आर्थिक रूपमा सबल बन्ने अवसर दिएको छ । यदि यस कार्यक्रमलाई संस्थागत गर्दै यसका चुनौतीहरूलाई सम्बोधन गर्न सकियो भने बुटवलले स्याहार र सेवाको क्षेत्रमा देशभरकै लागि एउटा अनुकरणीय उदाहरण प्रस्तुत गर्नेछ, जहाँ हरेक घरका महिला आत्मनिर्भर हुनेछन् र कोही पनि नागरिक स्याहारको अभावमा एक्लो महसुस गर्नुपर्ने छैन ।


लुम्बिनी रिभ्यू