• Saturday 25th July 2026

शिवनगर सामुदायिक वनमा कृषिमा आधारित वन नर्सरी

शिवनगर सामुदायिक वनमा कृषिमा आधारित वन नर्सरी

वार्षिक ३० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य


  • लुम्बिनी रिभ्यू

बुटवल, वार्षिक ३० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित बुटवलको शिवनगर सामुदायिक वनले कृषिमा आधारित वन नर्सरी स्थापना गरेको छ ।
नर्सरीमा हाल ४८ प्रजातिका ४ हजार ८ सय बिरुवा उत्पादन गरिएको छ । जहाँ कुरीलो, व्याक म्यांगो, बाह्रमासे आप, सुन कागती, इन्सुलेन्स, लेमन धुपी, रातो अमला, मरिच, माल्य मौसमी लगायतका बहुउपयोगी बिरुवा छन् । बुटवलको घना बजार छेउमा रहेको वनले नर्सरीमा खाली ठाउँदेखि खेतबारी, बगैचा, कौसी र छतमा रोप्न सकिने बिरुवा उत्पादन गरेको हो ।

नर्सरीको शनिबार एक कार्यक्रमका बीच शनिबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले शिवनगर सामुदायिक वनसँग सम्झौता गरी वनले उत्पादन गरेका बिरुवा बुटवल उपमहानगरका सडक, खाली क्षेत्र र अनुदानका लागि बाड्ने बताउनुभयो । उहाँले नर्सरीलाई प्रचार प्रशार गरी व्यवसाय प्रवद्धन गर्न र नमूना बनाएर पर्यटकिय क्षेत्र समेत बनाउन सकिने सम्भावना देखाउनुभयो ।
वन नर्सरी उद्घाटनसँगै वन परिसरमा केही वृक्षरोपण समेत गरिएको थियो ।


शिवनगर सामुदायिक वनले नर्सरी उत्पादन र व्यवस्थापनका लागि २५ जनाको समूह बनाएको छ । त्यसमा अधिकांश महिला छन् । नर्सरी व्यवस्थापन समूह अध्यक्ष श्यामकला आचार्यले वनबाट नियमित आम्दानी लिने र विपन्न एवं सिमान्तकृतलाई रोजगारी सिर्जना गर्ने उद्धेश्यले नर्सरी स्थापना गरेको बताउनुभयो । उहाँले नर्सरीलाई व्यवसायिक बनाइ बाह्रैमासे रोजगारी हुने र बुटवल बजारलाई हराभरा बनाउने बताउनुभयो ।
२०५४ सालमा स्थापित शिवनगर सामुदायिक वन ४ सय ७२ दशमलब ७७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बुटवल ७, ८, ९ र ११ वडाका उपभोक्ता रहेको यस वनले वनलाई उत्पादनसित जोड्न र उपभोक्तालाई वनको प्रत्यक्ष फाइदा लिनसक्ने बनाएको छ । शिवनगर सामूदायिक वनका अध्यक्ष मनोज गौचनले नर्सरीसगै विभिन्न उत्पादनमूलक काम गरीरहेको बताए । “हाम्रो प्राथमिकता वनबाट विपन्न वर्ग, सिमान्तकृत र युवालाई कसरी वनबाट फाइदा लिन सक्ने बनाउने भन्ने हो ।यसका लागि कृषि वनमा आधारित नर्सरी, इको टुरीजम पार्क लगायतका संरचना पनि बनाइएको छ । ” उहाले भन्नुभयो ।

वन संरक्षणको जिम्मा तीन तहकै सरकारमा छ । वनबाट उठेको कर पनि तीनवटै सरकारमा जान्छ । शिवनगर सामुदायिक वनका सहसचिव शिवबहादुर अधिकारीले वन संरक्षण र वनबाट फाइदा लिने तरिकामा पनि तीन तहकै सरकारले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend