अमृता अनमोल
बुुटवल –हाम्रो देशमा विभिन्न रीतिरिवाज छन् । विभिन्न संस्कार, धर्म र संस्कृति छन् । थरीथरीका मानिसहरूले आ–आफ्नो चलनअनुसार थरीथरीका चाडपर्व मनाउछन् । सदिऔंदेखि मनाउँदै आइरहेको यो परम्परा अहिले पनि कायमै छ । नेपाली समाजमा पहिलेदेखिको विविधता अहिले पनि कायम छ । यही विविधता नै समाजको सौन्दर्यता पनि हो । जसरी एउटै फूलको बगैँचा भन्दा थरी थरीका फूलको बगैँचा नै सुन्दर देखिन्छ, त्यसैगरी थरीथरीका संस्कार संस्कृति र चाडपर्व नै समाज पनि सुन्दर बनाउछ । अनेकतामा एकता थपिदिन्छ ।
प्रसंग तीज पर्वको गरौं । नेपालको सांस्कृतिक विविधतामा तीज पर्वले विशेष महत्व राख्छ । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष रूपमा मनाउने यो पर्व मुख्यतः शिवपार्वतीको विवाहको सम्झना स्वरूप मनाइन्छ। तीजको मूल सन्देश धार्मिक आस्थासँग गाँसिएको छ । तर, तीजले संस्कृति, संगीत र एकताको पनि जगेर्ना गर्छ । तीजमा महिलाहरु गीत गाउने र नाच्ने गर्छन् । तीजका गीत झ्याउरे लोक लयका हुन्छन् । थरीथरीका रसमा गाइएका हुन्छन् । तीज पर्वमा दिदीबैनी र छोरीचेली माइतीघरमा जम्मा हुन्छन् । एकै ठाउँले महिलाको सामाजिक भूमिका, अधिकार र भावनात्मक अवस्थालाई पनि चित्रण गर्न सघाइरहेको छ । यसरी हेर्दा वर्तमान परिवेशमा तीज केवल धर्मशास्त्रअनुसार व्रत बस्ने र पूजाआराधना गर्ने पर्व मात्र होइन । नाचगान गर्ने र रमाइलो गर्ने पर्व पनि हो । पछिल्लो समय महिला सशक्तिकरण, चेतना र सामाजिक संवादको एक सशक्त माध्यम समेत बन्दै गएको छ।
तीज पर्वको परिचय
तीज पर्व भदौ महिनाको शुक्ल पक्ष तृतीयामा पर्ने गर्दछ। यसको आरम्भ ‘दर खाने’ दिनबाट हुन्छ। त्यसपछि महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा गर्छन्। रातो चुरा, रातो पोते, रातो सिन्दुर र रातै सारी ब्लाउजमा सजिन्छन् । गरगहना र राता लुगा लगाएर महिलाहरु चिरीच्याट्ट पर्छन् । अविवाहिता महिलाले आफूले मन पराएको वा योग्य वर पाउने कामना गर्छन् । विवाहिता महिलाले आफ्नो पतिको दीर्घायु र समृद्धिको कामना गर्नु गर्छन् ।
तीज पर्वको ऐतिहासिक सुरुवात
हिन्दु धर्मग्रन्थहरु अनुसार हिमालयले आफ्नी पुत्री पार्वतीलाई भगवान् विष्णुसँग विवाह गरिदिने निधो गरे । थर, पार्वतीले भने भगवान शिवलाई मन पराउथिन् । उनैसँग विवाह गर्न चाहान्थिन् । त्यसैले बाबुले विष्णुसँग विवाह गर्न बाबुले ल्याए यो प्रस्तावलाई पार्वतीले अस्वीकार गरिन् । त्यसपछि उनी घरबाट लुकेर निस्किन् । पार्वतीका साथीहरूले हरण गरेर घनघोर जंगलमा लुकाए । त्यही जंगलमा लामो समयसम्म तपस्या गरिन् । एक दिन शिवलिंग स्थापना गरी आराधना गरिन् । यसबाट शिव प्रभावित भएर प्रकट भए । पार्वतीलाई मनले चाहेको कुरा माग पूरा गरिदिन्छु भन्ने वचन दिए ।
पार्वतीले शिवलाई पतिको रुपमा मागिन् । शिवले तथास्तु भने । त्यसपछि शिव हिमालयसँग पार्वतीलाई माग्न गए । यसरी शिव र पार्वतीको विवाह भयो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । यही मान्यताले हिन्दू महिलाहरूले तिजको व्रत बस्ने परम्परा चलेको हो । त्यसकै निरन्तरता स्वरुप अविवाहित महिलाहरूले असल श्रीमान् पाउने कामना सहित व्रत बस्छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु र सुस्वास्थ्य कामना सहित यो बर्त बस्ने परम्परा छ ।
तीज मनाउने प्रक्रिया
तीजलाई मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ । दर खाने दिन, व्रत बस्ने दिन र ऋषि पन्चमीको दिन । तीज पर्वमा यी तीनवटै दिनको फरक फरक र विशेष महत्व छ ।
दर खाने दिन
दर खाने दिन तीजको पहिलो दिन हो । जहाँ महिलाहरू परम्परागत परिकारहरू खाएर रमाइलो गर्छन् । दर भनेको घिउ राखेको भात हो । मिठो खानेकुरा हो । तीजको दरमा परम्परागत रूपमा स्वादिलो, पौष्टिक र विविध परिकारहरू खाने चलन छ । तीज व्रत बस्नुअघि महिलाहरूले पौष्टिक भोजन खाएर भोलिपल्टको उपवासलाई सजिलो बनाउने उद्देश्यले दर खाइन्छ। दर विभिन्न क्षेत्र अनुसार फरक फरक परिकार तयार गरेर खाइन्छ । तीज दरमा खाने मुख्य परिकार घिउ राखेको भात हो । कसैले दरमा खीर, खुवा, हलुवा पनि खाने गरेको पाइन्छ । परम्परागत रुपमा राति १२ देखि १ बजेको बिचमा खाने खानेकुरा दर हो ।
दर राति खाइन्छ । खासगरी भोलिपल्टको ब्रत बस्नुअघि राति वा बेलुका दर खाने चलन छ। परिवार, साथी–इष्टमित्रसँग रमाइलो गर्दै दर खाने चलनले पारिवारिक र सामाजिक नाता पनि बलियो बनाउँछ। कर्मघरबाट माइतीघरमा आएका छोरीचेलीहरु रमाइलो गर्दै दर खान्छन् । नाचगान गरेर माइतीघर अझ रमाइलो गर्छन् । यद्यपि दरखाने दिन बिहानैदेखि घरमा मिठा मिठा परिकार पकाइन्छ । विहे गरेर गएका दिदीबहिनीसँगै आफन्तका चेलीहरुलाई भेला गरेर दर खुवाइन्छ ।
तीज
तीज पर्वको मुख्य दिन नै तृतीया वा तीज हो । जुन दिन महिलाहरु व्रत बस्छन् । बिहानै उठेर नुवाइ धुवाइ गरेर चोखो बन्छन् । रातो लुगा लगाउछन् । विवाहिता महिलाले विवाहको शौभाग्य शिरमा शिन्दुर लगाउछन् । हातमा राता चुरा लगाउछन् । रातै लुगा र गरगहनामा सजिएर नजिकको शिवालय मन्दिरमा जान्छन् । मध्यान्हमा शिवको पूजा र आरधना गर्छन् । मन्दिर परिसरमा नाचगान गरेर रमाइलो गर्छन् । यो दिन महिलाहरू पानी पनि नपिई शिवलाई प्रसन्न पार्ने प्रयासमा पूजाआराधना गर्छन् । गीत गाउछन्।
ऋषि पञ्चमी
ऋषि पञ्चमीको दिन सप्तऋषिको पूजा गरिन्छ । महिलाहरुले भक्तीभाव पूर्वक सप्तऋषिको पूजा गर्छन् । ऋषि पञ्चमीलाई ‘शुद्धिकरणको दिन’ भनेर पनि लिने गरिन्छ। व्रतकथा अनुसार यो महिनावारी अर्थात् रजश्वलासँग सम्बन्धित छ । हिन्दु धर्ममा महिनावारीलाई छोइछिटो बार्ने चलन छ । यही चलनस्वरुप ऋषिपन्चमीले मान्यता पाएको पाइन्छ । यस दिन महिलाहरूले महिनावारी भएका ‘पाप’हरूबाट मुक्ति पाउन नदी या धारामा गई स्नान गर्छन् । हरेक दिनको एक पर्नेगरी दत्तीवल खान्छन् र सप्तऋषिको पूजा गर्छन्। पूजा सकेपछि नाचगान गरेर फेरि रमाइलो गर्छन् ।
तीज र महिला सशक्तिकरण
पहिले पहिलेको समयमा स्रोत साधनको अभाव थियो । सडकको बिस्तार भएको थिएन । यातायातका साधन पनि थिएनन् । विवाह भएर गएका छोरी चेलीहरूको माइत आउने र जमघट हुने भनेकै तीजको अवसरमा थियो । कतिपय छोरी चेलीहरु पारिवारिक जिम्मेवारीका कारण तीजमा पनि माइत जान नपाउने बाध्यता समाजमा थियो । त्यति बेला त्यहि माइत जान नपाएका कुरा परिवेशका दु ख पिडा, वेदनाका गीतहरू गाइन्थ्यो ।
समय बदलिएसँगै तीजको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। विगतमा यस पर्वलाई केवल धार्मिक कर्मकाण्डको रूपमा लिइन्थ्यो । अहिले तीज पर्वले महिलाको अस्तित्व, स्वतन्त्रता र समानताको सवाल उठाउने एउटा अवसरकोे रूपमा विकास हुने अवसर पाएको छ। तीजले महिलाहरूबीच एकता, आत्मीयता र सांस्कृतिक पहिचानलाई मजबुत बनाएको छ । यो पर्वमा महिलाहरू विभिन्न जात, वर्ग, र भौगोलिक पृष्ठभूमिबाट आएर एउटै थलोमा रमाउने, दुःखसुख बाँड्ने, र सांगीतिक माध्यमबाट आफ्ना भावना पोख्ने गर्छन्। तीजको अवसरमा विभिन्न संघसंस्थाहरू, महिला समूहहरू, र सामाजिक अभियन्ताहरूले गोष्ठी, छलफल, सांस्कृतिक कार्यक्रम आदिको आयोजना गर्छन्। यस्ता गतिविधिले महिलालाई नेतृत्वमा उभिन, आत्मविश्वास बढाउन र नीति निर्माण प्रक्रियामा सहभागी हुन उत्प्रेरणा दिन्छ।
आधुनिक तीज
अहिले हरितालिका तीज नजिकिदै जाँदा तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको हुन्छ । घरघरमा तीजका भाका घन्कीने गर्छन् । रेडियो ,टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका हुन्छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरु तीजमय भएका भेटिन्छन् । कसैले दर खाएका, कसैले नाचेका त कोही माइत जान लागेका फोटो र भिडियोहरु छ्याप्छ्याप्ती आउन थालेका हुन्छन् । पश्चिम पहाड र त्यसआसपासका गाउँघर र बजार क्षेत्रका चोकहरुमा तीज विशेष नाचगान चलीरहेका हुन्छन् । घरघरमा दर खुवाउन आफन्त चेलीहरु जम्मा गर्ने क्रम बढेको भेटिन्छ । चेलीहरुलाई कसकोमा कहिले जाने, खाने र नाच्ने भ्याइ नभ्याइ देखिन्छ ।
भदौ लागे यता बजार क्षेत्रका होटल तथा पार्टी प्यालेसहरु समेत तीज कार्यक्रमले भरिन थालेका छन् । संघसस्थाहरुले तीजका औपचारिक कार्यक्रम आयोजना गरिरहेका छन् । टोलविकास सस्था, सम्पर्क समाज, सहकारी लगायतले पनि आफ्ना चेलीबेटीलाई भेला गरेर दर खुवाउने, नाचगानमा सरीक गराइरहेका छन् । कतिपय संघसस्थाले प्रतियोगितात्मक तीज नाचगान आयोजना गरेका छन् । हरेकजसो विद्यालयमा तीज विशेष कार्यक्रम र प्रतियोगिता गरिएका छन् । सरकारी कार्यालय, नीजी संघसस्थाले आफ्ना महिला कर्मचारीलाई दिदीबैनीका रुपमा एक दिन दर खुवाउने र नाचगान गरेर खुशी पारिरहेका छन् । नजिकमा माइतीघर नहुने, माइत जान नपाउने र कामकाली चेलीहरु कर्मथलोमा आयोजना हुने यीनै कार्यक्रममा रमाइरहेका छन् । नाचगानमा झुमीरहेका छन् ।
तीज मुलत ः महिला प्रधान पर्व हो । धार्मिक रुपमा सत्य युगमा हिमालय पुत्री पार्वतीले शिवलाई पतिका रुपमा पाउन निरहार व्रत गरेपछि पति पाएको कथामा आधारित छ । तीजका लागि निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्ला दिन मीठोमीठो पकवान अर्थात दर खाएको आधारमा दर खाने र तीजको दिन शिवजीको पूजा गरी निराहार व्रत बस्ने चलन छ । पञ्चमीका दिन ऋषिहरुको पूजा गर्ने चलन छ । यही मान्यताका साथ तीज मनाउने हिन्दु महिलाहरु धेरै छन् । तर, पति पाउन वा पतिकै दिर्घायूका लागि मात्र तीज व्रत बस्ने र महिनावारीको पाप पखाल्न गरिने ऋषिपञ्चमी पूजा बेतुकको मान्दै कतिपय हिन्दु महिलाहरुले पनि यी कर्म वहिष्कार गरिरहेका छन् ।
तीजको धार्मिकमात्र होइन सांस्कृतिक र सांगितीक महत्व पनि धेरै छ । लोकलयमा आधारित तीज गीत, तिनका भाका र नाच हाम्रो संस्कृति हो । हिन्दु महिलाका लागि तीज माइती एवं आफन्तको घरमा जमघट हुने, मीठो खाने, राम्रो लाउने, निर्धक्क नाचगान र रमाइलो गर्ने पर्व हो । गीतमार्फत तत्कालिन अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तिकरणका कुरा बाहिर ल्याउने पर्व हो । यसैले यो महिला अधिकारको पर्व पनि हो ।
तीज कति दिन मनाउने ?
तीज कति दिन मनाउने र कसरी मनाउने पछिल्ला वर्षहरुमा यसको बहस बढ्तै हुने गरेको छ । तीज तिथि र व्रत एक दिन हुने भएकाले कतिपयले तीज त्यसैदिन मात्रै मनाउनुपर्ने तर्क राख्छन् । कसैले पहिले पहिले एकै दिन मनाउने गरेको तर अहिले महिनौं मनाएर तीजलाई विकृत बनाएको दाबी गर्छन् । तीजको सांस्कृतिक पक्षबारे जानकार हुनेले तीज एक दिन मनाउने गरेको वा एक दिनमात्रै मनाउनु पर्छभन्ने तर्क राख्नु गलत हो । तीजलाई मौलिक र सरल बनाउनुपर्छ भन्ने विचार चाहि सही हो ।
लोकलय बचाउदै तीज गीत
लोकगीतको बढ्ता चल्ती रहेको पश्चिम पहाडमा उहिले पनि साउने संक्रान्तीबाटै तीजको रौनक सुरु हुन्थ्यो । महिलाहरु कहिले कसको आ“गन कहिले कसको आ“गनमा तीज गीत आयोजना गर्थे । दाजुभाइहरुले मादल र खैजडी बजाएर सघाउथे । कोही दिदीबैनीसंगै नाच्ने र गाउने पनि । आफ्ना सुखदुःख र भोगाइलाई गीत बनाउथे । विभेद, अभावसंगै खुसी र उद्वेगलाई गीतमार्फत् पोख्थे । तीजमा छोरीचेली ननाचेको आ“गन अशुभ हुन्छ भन्ने मान्यता थियो । त्यसैले पालैपालो सबैको घरमा तीज गाइन्थ्यो । नाच्नगाउन भेला भएकालाई कांक्रा, अमिला, अचार, चिया, हलुवा, खीर खुवाउने चलन थियो । नाग पन्चमी, गुरु पुर्णिमा, कृष्णाअष्टमी, तीज, ऋषि पन्चमी लगायतका दिन भने ठूला चौक, चौर र चौतारोमा तीज कार्यक्रम आयोजना हुन्थे । तीज नजिकिएपछि धेरै छोरीबुहारी माइत मावल जान्थे । माइत जाने बुहारीलाई पनि घरमा एक दिन दर अर्थात् मीठो पकवान खुवाएर पठाइन्थ्यो । माइत आउन नपाउने चेलीबेटीलाई दरका सामाग्री घरमै पनि पठाइन्थ्यो ।
फेरिदै गीत गाउने ठाउँ
अब अहिलेका कुरा । समय फेरिदै जाँदा तीज मनाउने शैली फेरिएको छ । उहिले गाउँघरमा गाउने महिला अहिले शहर बजारमा आएका छन् । मान्छे जहाँ जान्छ त्यससंगै सस्कार र संस्कृति पनि बोकेर आउछ । शहर बजारमा नाच्न आँगन छैनन् चौतारो छैनन् भने तीज मनाउन होटल र पार्टी प्यालेसमा जानुलाई विकृत र असभ्य मान्नु हुदैन । कामकाजी महिलाले पाहुनापाछा बोलाएर घरमा दर पकाएर खुवाउने समय पाउदैनन् त होटलमा लगेर खुवाउछन् । यस्तो सुबिधा उपयोगलाई छाडा भन्न मिल्दैन । विहे, पूजा, व्रतबन्ध, जन्मदिन होटल र पार्टी प्यालेसमा गर्न हुन्छ भने तीज मनाउन नहुने कुनै अर्थपूर्ण तर्क छ र ? कामकाजी महिला काम छोडेर माइतीघर जाने अवस्था छैन । पहिले जन्मका आधारमा भेटिनेहरु अहिले कर्मका आधारमा भेटिन्छौं । उनीहरुबीच तीज मनाउनु दर खानुलाई विकृतिको पराकाष्टाका रुपमा चर्चा गरिनुको अर्थ छैन ।
दरमा के खाने ?
तीजका दरमा महिलाले के खाए र लगाए भन्ने विषय धेरै आलोचनाको विषय बनेको छ । स्वभाविक हो उत्तेजक लुगा लगाउनु र मादक पदार्थ खानु महिला पुरुष कसैले हुदैन । विडम्वना कुन पुरुषले के खाजा खायो? कति हजारको जुत्ता किन्यो , मोवाइल किन्यो , उनीहरुले चाडबाडमा के के खान्छन् ? के लाउछन् ? यसको चर्चा कहिल्यै हुदैन । तर, महिला तीजमा कुन कुन ठाउमा दर खान गए ? केके खाए ? कसरी खाए ? यसलाई निकै बहस गरिन्छ । मानौं उनीहरु अपराधी हुन् । त्यो संस्कृति बचाउनकालागि गरिएको बहस हो कि महिलालाई आलोचना गर्न मननीय छ ।
तीजका गीत
तीज गीतको कुरा गरांै । समय र परिवेश अनुसार फरक भाका र लयमा रचिएका तीज गीतले त्यससमयको इतिहास बोलेका हुन्छन् । पहिले भक्तिभावको समय थियो । हजुरआमाका पालामा भक्तियुग थियो । पहिले भक्तिभावको समय थियो । तीजका गीत र भजनमा पनि कति कतिबेला उस्तै उस्तै शब्द दोहोरिएका हुन्थे ।त्यतिबेला ‘कहामा जान्छौं रानीचरी बगाल बरीलै भगवान भेटन, देख्यौ कि देखेनौं, भेट्यौ कि भेटेनौ कस्ता छन् भगवान’ भनेर भगवानप्रतिको भत्तिगीत गाइन्थ्यो ।
त्यस समयमा भगवानका रुप, अवतार र प्राथनाका बारेमा धेरै गीत गाइन्थो । तीजका गीत र भजनमा पनि कति कतिबेला उस्तै उस्तै शब्द दोहोरिएका हुन्थे । समाजको यथावस्थाको बारेमा चित्रण गरेका गीत त्यसबेला गाइन्थ्यो । घरपरिवार र समाजमा भोगेका भेदभाव, खुसी, प्रशन्नताका बारेमा धेरै गीत गाइन्थ्यो । छोरीलाई हेला गरेको कुरा, भेदभाव गरेको कुरा, माया गरेको कुरा गीतमा पोखिन्थ्यो । महिला सशक्तिकरण र चेतना प्रवाहका बारेमा गीत यसपछि आएका थिए । अरु देशका महिलाले प्रगति गरेका कुरा र नेपालका महिला पछाडि परेका कुरा त्यसबेला गाइन्थ्यो । समाजको यथावस्थाको बारेमा चित्रण गरेका गीत त्यसबेला गाइन्थ्यो । घरपरिवार र समाजमा भोगेका भेदभाव, खुसी, प्रशन्नताका बारेमा धेरै गीत गाइन्थ्यो । छोरीलाई हेला गरेको कुरा, भेदभाव गरेको कुरा, माया गरेको कुरा गीतमा पोखिन्थ्यो । महिला सशक्तिकरण र चेतना प्रवाहका बारेमा गीत यसपछि आएका थिए । अरु देशका महिलाले प्रगति गरेका कुरा र नेपालका महिला पछाडि परेका कुरा त्यसबेला गाइन्थ्यो ।

आमाका पालामा सासुबुहारीबीचको द्धन्द्ध, पतिको थिचोमिचो र छोराछोरीबीचको विभेद विरुद्ध तीज गीत बनाइयो । ‘स्वामी मुख हेरुँ भने खुन खाएका बाघ झैं सासु मुख हेरुँ भने पोल्ने आगो झैं’ त्यही थिचोमिचोको गीत थियो । दिदीभाउजुले पनि तीज गीतबाट आफूमाथिका अन्याय र अत्याचारका कुरा तीज गीतमार्फत बाहिर ल्याए । छोरी भएकै कारण सानैमा विहे गरेर जानुपर्ने, बाबुको अंश नपाइने, पढ्न नपाइने कुरादेखि विहे गरेर गएको घरमा समेत आफूले माया नपाएका कुरा गीत बनाए र गाए । पञ्चायती शाशन, छोराछोरीको विभेद, दाइजो, बहुविवाह, बालविवाह लगायतको विरोधमा गीत गाए । ‘अन्याय र अत्याचार हिंसा हुँदा बोलन, लागौ अब पञ्चायती शाशन मासन’ पञ्चायती शाशन विरुद्ध दिदीभाउजुहरुले यिनी गीत गाएकै थिए । अरु बेला ठाडो शिर लगाएर हेर्न नसक्ने महिला तीज गीतमा अन्याय र अत्याचारको विरोध गर्दै गला फुलाएर गाउने र छाती फुलाएर छमछमी नाचेकै थिए । राष्ट्रसेवक नेताले बोल्न नसक्ने, समाज सुधारकले उठाउन नसकक्ने विरोध र चेतनाका कुरा बस्ती बस्तीका महिलाले उठाएका थिए । केही मुठ्ठीभर काठमाडौंका कलाकारले अहिले तीजको मौलिकता बिर्सेका छन् । सस्तो लोकप्रियता र मनोरञ्जनका लागि उनीहरुले झ्याउरे लयमा मायाप्रितिका गीत मात्रै पस्केका छन् । रत्यौली र फागु पनि हाम्रा पर्व हुन् । तीज गीतलाई तिनकै झल्को दिनेगरी पस्केका छन् । नत्र मोफसलका थुप्रै महिला अहिले पनि तीज गीतमार्फत निरन्तर कुरीति कुसंस्कारको विरोध गर्दै चेतना प्रवाह गरेका छन् । तीज गीतमा परिवेश अनुसार गाउने र नाच्ने चलन अहिले पनि छ । मात्र हामीले यो पाटोलाई हेरेका छैनौं । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको तीज मिलन कार्यक्रममा उपप्रमुखले गाएको यौटा गीत त्यसको उदाहरण हो ।
छोरी जन्मी भनेर रुदै हिड्थीन् आमाले
अहिले छाती फुलाउछिन् हाम्रा कामले
कोही डक्टर कोही शिक्षक कोही नेता भाका छौं
घर समाज देशमा नै खुसी ल्याका छौं ।
कुनै समय थियो महिलाहरुलाई आफूमाथिको अन्याय, अत्याचार र विभेद विरुद्ध बोल्न वन्देज थियो । त्यसैले हाम्रा आमा, हजुरआमाहरु आफूमाथिको अन्याय, विभेद र थिचोमिचोलाई गीत बनाएर विरोध गर्थे । अहिले त्यस्तो छैन । आफूमाथि भेदभाव भएको कुरा तत्काल भन्न र प्रतिकार गर्न सक्छौं । त्यसैले दुःख भन्दा रमाइला कुरा अहिले तीज गीत बनाइएका छन् । उपलब्धीहरु गाइएका छन् । यो स्वभाविक हो ।
कुनैपनि चाडपर्व निरपेक्ष हुदैनन् समय सापेक्ष हुन्छन् । समयसंगै तिनलाई मनाउने तरिका फेरिन्छन् । यससंगै तीज फेरिएको हो । दशैं तिहार, फागु, माघी, लोसार हेरौं न सबै फेरिएका छन् । फेरिन लागेका पर्वलाई मौलिक रुपले मनाऔं यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष मर्न नदिऔं यो चाहि बहसको विषय हुनसक्छ । चाडबाडलाई बोझीलो नबनाऔं सरल र सहज बनाऔं । सबै अट्नेगरी र मनाउन सक्नेगरी मनाऔं । यसमानेमा भने तीजको बहस गरौं ।
फेरिदै परिभाषा
पछिल्लो समय तीज पर्वको परिभाषा नै फेरिएको छ । कतिपय समयमा यसको मौलिकता धरापमा परेको छ । तीज गीतका बारेमा अझ बढी परिभाषा फेरिएको छ । पहिले र अहिले तीज गीतका भाका धेरै फेरिएका छन् । केही कलाकार र गायक गायिकाले तीजका गीतमा लेख्ने शब्द, गाउने तरिका र अभिनय गर्ने शैली फेरिएको छ । तीज, गीतका नाममा कतिपय कलाकारहरूले रत्यौली पाराका गीत निकालेको पाइन्छ । गीतमा सिंगो संस्कृतिलाई नै नंगाएर आफू हिट हुने मेलो बनाइरहेका पाइन्छन् । यो गलत हो । व्यापार र आफ्नो क्षणिक चर्चाको लागि परम्परा र संस्कृतिको गलत प्रयोग गरेर पर्वको संवेदनालाई महत्वहीन बनाइँदै छ । हरेक कुरा समयसँग परिमार्जन हुन जरुरी छ तर परिमार्जनको सिलसिलामा आफ्नो विषयवस्तुको मान्यता नै विचलित हुने गरी परिमार्जन गर्नु जायज हुँदैन ।
समय बदलियो र समयसँगै महिलाको जीवन जिउने शैली बदलियो । शोषण र दासता हट्दै गए । महिलामा आधुनिकता छायो तर आधुनिकताका नाउमा तीजको रौनक पनि उत्ताउलो र तडक भडक हुँदै गएको छ । अहिले त भन्न सक्छौ त्यो पुरानो तिजको स्वाद बदलिएर पुरै फरक भएको छ । अबका पुस्ताले खास तीज के हो भन्ने कुराको समेत पत्तो नपाउने परिस्थितिको सिर्जना हुँदै छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । जुन तीज गीतका नाममा हुने गलत क्रियाकलाप हो ।
तीजका बारेमा गलत प्रचार
पछिल्लो समय आधुनिकताको विकाससँगै सबै पर्वहरु मनाउने शैली फेरिएको छ । दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व पनि मनाउने शैली फेरिएको छ । हाम्रा चाडपर्व मनाउने शैलीले समाजमा वर्गीय असमानतालाई फेरि ब्यूँताउन खोजेको जस्तो देखिन्छ । तडक भडक र विलासी प्रवृत्तिले कम आय भएकालाई हीनताबोध हुन्छ । अर्कोतिर अनावश्यक अरूलाई देखाउनकै लागि भएपनि खर्च गर्ने प्रवृत्तिले गर्दा जसरी पनि कमाउनुपर्छ भन्ने पारिवारिक दबाब हुन्छ जसले गर्दा भ्रष्टाचार समेत मौलाउँदै गएको देखिन्छ । उच्चपदस्थ सरकारी कर्मचारीहरूले परिवारलाई खुसी पार्न आफूहरूले दायाँबायाँ गर्नु परेको अनौपचारिक गफमा बताउने गरेका छन् ।
सबै पर्वहरु परम्परागत शैलीमा मनाउनुपर्छ भन्ने छैन । आधुनिक हुने नाममा बढी नै तडक भडक छन् भने ती पर्वलाई सपार्नु पर्छ । तीज मनाउने शैली फेरिदैमा तीजबारे आलोचना गर्नु गलत छ । तीज पर्वको पौराणिक, सामाजिक र सांस्कृतिक महत्व छ । कोही व्यक्ति पनि निराहार व्रत बस्छ भने स्वास्थ्यका लागि राम्रै हो । कसैले आफू व्रत बस्दा श्रीमान्को आयु लामो हुन्छ भन्ने मान्यता राख्छ भने त्यो अन्धविश्वास हो । त्यसको आलोचना गर्नु गलत हो ।

हुन त चाडपर्व मनाउने आ–आफ्नै शैली र तरिका होलान् । मनोरञ्जन बिना जीवन सार्थक नहोला तर अहिले जति समय कपडा किन्न र छिमेकीसँग खानमा प्रतिस्पर्धा गर्दै खेर फालिरहेका छौ । त्यसको केहि प्रतिशत समय र पैसा समाजको निम्ति खर्च गर्न सके राम्रो सन्देश प्रवाह हुने थियो ।
अहिलेको समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगले गर्दा हिंसाका स्वरूपहरू फेरिएका छन् । युवाहरू दुव्र्यसनीका शिकार हुँदै छन् । यसरी दिनदहाडै आमा, दिदी, बहिनी, छोरी चेलीको अस्मिता, आत्मसम्मान तथा ज्यान नै जोखिममा पर्दा पनि हामी तीजजस्तो महिलाको कथा र व्यथा सुनाउने पर्वमा पनि गहना र सारीका गीतमा रमाउँदैछौं । परिस्थिति अनुसार खुसी हुनु रमाउनु राम्रो हो । तर हामी सबैको सामाजिक दायित्व छ । हामीले अन्यायको पक्षमा पनि आवाज उठाउनुपर्छ । दोषीलाई उन्मुक्ति दिनेका विरुद्ध दबाब सिर्जना गर्नुपर्छ । तीजको दरका अवसरमा गरिने कार्यक्रममा यस्ता विषय उठाउनुपर्छ ।
तीजको मौलिकता कसरी बचाउने
तीज नेपाली हिन्दु धर्माबलम्बी महिलाहरुको मौलिक पर्व हो । तीज स्वतन्त्रता र खुसीको पर्व हो । तीज गीतमा महिलाहरुले गाउने गीत विश्वमै उत्कृष्ठ छन् । तत्कालका तत्काल परिवेश, वातावरण र अवस्था जोडेर तीजमा गीत गाइन्छ । आफूले जीवनमा भोगेका दुःख, सुख, उत्साह, उमंग, अनुभूति,माया , प्रेम, हेला, असमानताका विषयमा गीत बनाइन्छ । तीज गीतमा व्यक्तिको अवस्था मात्र होइन, परिवार, समाज र देशको अवस्थाबारे पनि गीत बनाएर गाइन्छ । छमछमी नाचिन्छ । यो महिलाहरुको सशक्तिकरणको ठूलो माध्ययम हो । तीजमा विवाह गरेर गएका छोरीचेली माइतीघरमा जम्मा हुन्छन् । भेटघाट गर्छन् । यसर्थ तीज पारिवारिक जमघट र मेलमिलापको ठूलो अवसर पनि हो । तीजमा खाने दर, शिवको पूजा आराधनादेखि निराहार व्रतसम्मका आफ्नै मौलिकता छन् । यी मौलिकता र परम्परा बचाउनु र पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।

लुम्बिनी रिभ्यू