देशका विभिन्न भागमा शनिबार भारी वर्षा भएको छ ।
बागमती प्रदेश र मधेश प्रदेशमा मुशलधारे वर्षा भएको छ । अति भारी वर्षाले काठमाडौंका विभिन्न स्थान जलमग्न भएका छन् । भृकुटीमण्डप लगायतका स्थानमा डुवान हुदा बिक्रीका लागि राखिएका सामान बगाएको छ । नदीहरु वरपर थप जोखिम बढेको छ । निरन्तरको वर्षाका कारण काभ्रे, काठमाडौं र मकवानपुरका जिल्लाहरुका नदीहरुमा पानीको बहाव बढेको छ । काडमाडौंको नदी रखोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने काम सुरु भएको छ । बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडकमा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमन रोक लगाएको छ । प्राधिकरणले भारीदेखि अतिभारी वर्षाका कारण नदी खोलामा पानीको तह बढ्ने र सडक डुबानको जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गरेको छ। अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ । मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध हो । रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् । गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पु¥याउने सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरुलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि निर्देशन दिएको छ । पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ । यता बुटवल तानसेन सडक खण्डमा पनि २ दिनका लागि बन्द गरिएको प्रशाशनले जनाएको छ ।

लुम्बिनी रिभ्यू