बुटवल, दशैंको अवधीमा भएका सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा २२ जनाले ज्यान गुमाएका छन् ।
घटस्थापनादेखि पूर्णिमासम्म अर्थात असोज ६ गतेदेखि २० गतेसम्मको अवधिमा लुम्बिनी प्रदेशमा ३ सय ८२ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी १ सय ४८ जना गम्भीर घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सबैभन्दा धेरै रुपन्देहीमा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट रूपन्देहीमा ७ जनाको ज्यान गएको छ। बांकेमा ४ जना बर्दिया र कपिलवस्तुमा ३÷३ जना अर्घाखाँची, पाल्पा र दाङमा एक÷एक जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी, प्युठान, रोल्पा र रुकुम पूर्वमा भने ज्यान जाने घटना नभएको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। चाडबाडको बेला भीडभाड, यात्रुको हतार र सवारी साधनको अत्यधिक चापका कारण यस्तो जोखिम बढ्ने गरेको हो ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक सवारी दुर्घटना हुन नदिन यात्रु आफै सजग हुनुपर्ने बताउनुभयो । त्यसका लागि तीव्र गतिमा सवारी नचलाउन, सवारीका साधनलाई दुरुस्त अवस्थामा राख्न प्रहरीको सुझाब छ ।

लुम्बिनी रिभ्यू